मुस्ताङ भन्सारमा १५ दिनमै उठ्यो एक अर्ब ७८ करोड राजस्व, ६४१ वटा इभी जाँचपास

बिजमाण्डू
२०८३ भदौ २८ गते ०६:२९ | Sep 13, 2026
मुस्ताङ भन्सारमा १५ दिनमै उठ्यो एक अर्ब ७८ करोड राजस्व, ६४१ वटा इभी जाँचपास


काठमाडौं । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

Vigo
GBIME
Tata

भदौ १० गतेको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको हो।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढेको छ। शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड हाराहारीमा राजस्व संकलन हुने गरेको चुडालको भनाइ छ। उनका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

रसुवागढीनाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उनले बताए।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा दुई अर्ब ३१ करोड ४४ लाख राजस्व संकलन भएको चुडालले बताए। भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए।

विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो।

भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोडको राजस्व संकलन गरेको थियो। त्यस वर्ष पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँबराबरको मालवस्तुको कारोबार भएको थियो।

गत वर्ष कोरला नाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो। रासस