फिलिपिन्स फेरी दुर्घटनामा ३५ शव भेटिए, हराएका अझै ५३ यात्रुको खोजी जारी

बिजमाण्डू
२०८३ भदौ २७ गते १५:५८ | Sep 12, 2026
फिलिपिन्स फेरी दुर्घटनामा ३५ शव भेटिए, हराएका अझै ५३ यात्रुको खोजी जारी


कोरोन (फिलिपिन्स)। फिलिपिन्समा यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ। अझै ५३ जना बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्डले जनाएको छ। घटनामा ४३ जनाको उद्धार भएको छ।

Vigo
GBIME
Tata

मनिलाबाट पालावान प्रान्तको पर्यटकीय सहर कोरोनतर्फ जाँदै गरेको एमभी जुन एस्टरमा बुधबार साँझ आगलागी भएको थियो। आगो लागेपछि जहाज कोरोन नजिकैको क्षेत्रमा पुगेर दुर्घटनाग्रस्त भएको थियो। आगो निभेपछि खोजीका क्रममा जहाजको इकोनोमी आवास क्षेत्रमा ३० शव फेला परेका थिए। ती शव शनिबार बिहान कोरोनको बन्दरगाहमा ल्याएर पहिचानका लागि प्रहरीको फरेन्सिक टोलीलाई जिम्मा लगाइएको छ।

कोस्ट गार्डका प्रवक्ता नोएमी कयाबयाबका अनुसार जहाजभित्र अझै शव हुनसक्ने भएकाले खोजी तथा उद्धार अभियान जारी छ। आगलागीको कारणबारे पनि अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणअनुसार आगो कार्गो राख्ने भागबाट सुरु भएको र केही सेकेन्डमै जहाजभर फैलिएको हुनसक्ने देखिएको छ। उद्धार गरिएका यात्रुहरूले ठूलो आवाजसँगै धुवाँ र आगो देखिएको तथा आगो यति तीव्र गतिमा फैलिएको बताएका छन् कि धेरै यात्रुले लाइफ ज्याकेट लगाउने समयसमेत पाएनन्।

जहाजमा यात्रु तथा चालक दल गरी १३४ जना रहेको प्रारम्भिक विवरण थियो। दुई जना यात्रु जहाजमा चढेका थिएनन्। उद्धार गरिएका ४३ जनामध्ये दुई जना चिलीका पर्यटकसमेत छन्। जहाजका कप्तान भने अझै सम्पर्कविहीन रहेको बताइएको छ।

घटनापछि आफन्तहरू कोरोन बन्दरगाहमा भेला भएर बेपत्ता परिवारजनको खोजी गरिरहेका छन्। रोयटर्सको समाचार अनुसार मनिलाबाट व्यवसायका लागि कोरोन गएका ४० वर्षीय भाइ रम्मेल गोन्जागाको खोजीमा पुगेकी माइरा काबिलानले आफूले उनको जीवितै उद्धार हुने आशा गुमाइसकेको बताएकी छन्।

फेरी सञ्चालक कम्पनी एटिएन्जा इन्टरआइल्यान्ड फेरीजले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ। फिलिपिन्समा सात हजारभन्दा बढी टापुबीच आवतजावतका लागि फेरी प्रमुख यातायात माध्यम हो। तर समुद्री दुर्घटनाको लामो इतिहास रहेको देशमा यस घटनाले फेरि फेरीको सुरक्षा मापदण्ड र नियमनमाथि प्रश्न उठाएको छ। गत जनवरीमा ३४० भन्दा बढी यात्रु बोकेको तीनतले फेरी डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो।