यूएईलाई हराउँदै नेपाल प्रिमियर कपको च्याम्पियन, दोस्रो पटक खेल्नेछ एसिया कप

बिजमाण्डू
२०८३ भदौ २७ गते १५:२१ | Sep 12, 2026
यूएईलाई हराउँदै नेपाल प्रिमियर कपको च्याम्पियन, दोस्रो पटक खेल्नेछ एसिया कप
नेपालको फिल्डिङ। Photo: ACC via CAN


काठमाडौं। नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।

Vigo
GBIME
Tata
नेपालको फिल्डिङ। Photo: ACC via CAN

यो प्रतियोगिताको च्याम्पियन टोलीले एसीसी एसिया कप खेल्न पाउने प्रावधान छ। नेपालले यसअघि सन् २०२३ मा मात्रै एसिया कप खेल थियो। त्यसबेला नेपालले भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्ने अवसर पाएको थियो। त्यसपछि प्रिमियर कप पार गर्न नसकेको नेपालले यसपाला च्याम्पियन बन्दै एसिया कपमा पुनरागमन गर्ने भएको हो।

आज सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको विशाल स्कोर बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई ४९.२ ओभरमा २६८ रनमा अलआउट भयो।

यूएईलाई रोक्न नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशीले २ तथा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, बसीर अहमद र रोहितकुमार पौडेलले समान १ विकेट लिए।

ब्याटिङमा रोहित र आशिफ। नेपालको फिल्डिङ। Photo: ACC via CAN

यूएईका लागि राहुल चोपडाले सर्वाधिक ९८ रन बनाउँदा सोहैब खानले ५२ रन बनाए। यी दुईले ८७ रनको साझेदारी गर्दा नेपाली बलरलाई मुस्किल परेको थियो। त्यसबाहेक हरप्रीत भाटियाले ३३ रन बनाउँदा तनिस सुरीले ४२ रन बनाए।

त्यसअघि फाइनलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर खडा गरेको थियो।

नेपालको विशाल स्कोर बनाउन आशिफ शेख र गुल्सन झाले महत्वपूर्ण भूमिका खेले। आशिफले शतकीय इनिङ्स खेल्दै १०६ बलमा ८ चौका र ४ छक्काको सहायतामा १०२ रन बनाए। उनलाई ३५.३ ओभरमा हैदरअलीले आयान खानबाट क्याचआउट गरे। त्यस्तै, गुल्सन झाले अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा ३ छक्का र ४ चौकाको सहायतामा ५२ रन बनाए।

आशिफ शेख। Photo: ACC via CAN

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनरद्वय शेख र अर्जुन कुमालले ९७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। कुमाल ४३ रन बनाएर रनआउट हुँदा अर्का ब्याटर इशान पाण्डे १३ रन बनाएर अदीप उस्मानीको बलमा तानिस सुरीबाट क्याचआउट भए।

यसबाहेक रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ तथा सन्दीप जोराले ७ रनको योगदान दिए। अन्तिम ओभरसम्म टिकेका बसीर अहमदले ४ बलमा १५ रन बनाउँदै अविजित रहे।

बलिङमा यूएईका इब्रार अहमदले सर्वाधिक ४ विकेट लिँदा खुजैमा बिन तन्विरले २ तथा हैदर अली र अदीप उस्मानीले समान १ विकेट लिए।