काठमाडौं। दिउँसोको ३ बजेको छ। असनको साँघुरो गल्लीमा पसलहरू खुलेका छन्। झिलिमिली सारी, कुर्ता र ब्लाउज सजाएर राखिएका छन्। नयाँ डिजाइनका कपडा ग्राहकको पर्खाइमा छन्। तर, पसलभित्र व्यापारीहरू ग्राहक होइन, घडीको सुई हेरिरहेका छन्।
अञ्जली श्रेष्ठ आफ्नो सारी-कुर्ता पसलको काउन्टरमा बसेकी छन्। मोबाइल कहिले हातमा आउँछ, कहिले काउन्टरमै राखिन्छ। तीजको मौसममा सामान्यतः उनलाई एकछिन फुर्सद हुँदैनथ्यो। ग्राहकलाई सामान देखाउँदा-देखाउँदै खाना खाने समय बित्थ्यो। तर, यसपटक दिउँसो ३ बजिसक्दा पनि पसलमा ‘यो थोक किन्छु’ भन्ने एउटै ग्राहक आएका छैनन्।
‘अहिलेसम्म बोहोनी भएको छैन,’ श्रेष्ठले भनिन्।
असन-इन्द्रचोकमा लामो समयदेखि श्रेष्ठले सारी-कुर्ताको होलसेल तथा रिटेल व्यापार गर्दै आएकी छन्। चाडबाडको मौसममा हुने व्यापारले वर्षभरको कारोबार धान्ने गरेको उनको अनुभव छ। तर, अहिले पसल खोलेर दिनभर ग्राहक कुरेर बस्नु परेको छ।
व्यापार घटेपछि पसलको भाडा तिर्नसमेत धौ-धौ हुन थालेको उनी बताउँछिन्। अनलाइन व्यापार बढ्नुले पनि परम्परागत पसलको बिक्री घटाएको उनको अनुभव छ। तर, यसपटक समस्या त्यतिमै सीमित छैन। भोटेकोशीमा बाढी आएपछि बजार झनै सुस्त भएको उनी बताउँछिन्।

बाढी आउनुअघि फाट्टफुट्ट सारी-कुर्ता बिक्री भइरहेको थियो। बाढीपछि भने व्यापार ठप्पजस्तै भएको उनको भनाइ छ। आगामी दसैंतिहारमा पनि व्यापारमा सुधार आउने संकेत नदेखिएको उनी बताउँछिन्।
गोदाममा चाडबाडको स्टक, पसलमा ग्राहकको प्रतीक्षा
असनको दृश्य न्यूरोडको रञ्जना गल्लीमा पनि उस्तै छ। ३० वर्षदेखि कपडाको होलसेल व्यापार गर्दै आएका प्रदीप जैन अहिले दिनभर मोबाइल चलाएर बसिरहेका छन्। तीजका लागि महिनौंअघि ल्याइएका सामान गोदाममा थन्किएका छन्। पसलमा भने उनी ग्राहकको प्रतीक्षामा छन्।
तीजको समयमा खाना खानेसम्म फुर्सद नहुने विगत सम्झिँदा अहिले दिन कटाउनै मुस्किल भएको जैन बताउँछन्। उनका अनुसार अहिले विगतको तुलनामा २५ प्रतिशत व्यापार पनि हुन सकेको छैन।

चाडबाडका दुई/तीन महिनाको व्यापारले वर्षभरको खर्च धान्ने गरेको भए पनि यस वर्ष अवस्था निकै नाजुक रहेको उनको भनाइ छ। भारतबाट कुर्तासुरुवाल लगायत कपडा आयात गर्दै आएका उनले नयाँ सामानको अर्डरसमेत रोक्नुपरेको छ।
‘भारतबाट सामान ल्याउनलाई अर्डर प्लेस गरेको पनि रोक्नु पर्यो। के गर्नु भन्सार तिर्ने पैसा पनि उठ्दैन,’ जैनले भने।

सामान आयात गरेर बिक्री गर्ने व्यापारीका लागि अहिले सबैभन्दा ठूलो समस्या बिक्री नहुनु हो। बिक्री नहुँदा पुरानो स्टकमै पैसा अड्किएको छ। नयाँ सामान ल्याउन पैसा छैन। नयाँ सामान नल्याउँदा चाडबाडको बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन। यही चक्रले व्यापारीलाई थप दबाबमा पारेको छ।
होलसेल व्यापारी महेश्वर रेग्मीको अवस्था पनि फरक छैन। आफ्नै गार्मेन्टमा उत्पादन गरिएका ब्लाउज तथा बुनेका मलमलका झोला बिक्री गर्दै आएका रेग्मीका अनुसार विगतमा चाडबाडअघि ठूला-ठूला अर्डर आउने गर्थे। यसपटक त्यस्ता अर्डर निकै घटेका छन्।

ठूला अर्डरको सट्टा अहिले दुई-चार पिस सामान बेचेर बस्नुपरेको उनी गुनासो पोख्छन्। तीजलाई लक्षित गरेर तयार गरिएका करिब १० हजार पिस ब्लाउज बिक्री नभएपछि स्टकमै रहेको उनले बताए।
ठूला अर्डर हराए, खुद्रा ग्राहक पनि खुम्चिए
व्यापारको सुस्तता केवल पसलमा ग्राहक नआउनुमा सीमित छैन। आउने ग्राहकले पनि विगतमा जति सामान खरिद गर्दैनन्।

न्यूरोड-इन्द्रचोकमा लामो समयदेखि कुर्ता-सुरुवालको होलसेल तथा रिटेल बिक्री गर्दै आएकी संगीता भट्टराईका अनुसार विगतमा ५० हजारदेखि १ लाख रुपैयाँसम्मको सामान लैजाने रिटेलरले अहिले २० देखि २५ हजार रुपैयाँको मात्र सामान लैजाने गरेका छन्। त्यो पनि ग्राहकको संख्या निकै कम छ।
उनका अनुसार अहिले दिनभरमा दुई-चार जना ग्राहक मात्र पसलमा आउने गरेका छन्। चाडबाडको मौसममा ग्राहकको भीड लाग्ने ठाउँमा यस्तो अवस्था आउनु कपडा व्यवसायको संकटको संकेत भएको व्यापारीहरू बताउँछन्।

न्यूरोडको रञ्जना गल्लीमा विगत १० वर्षदेखि होलसेल तथा रिटेल व्यापार गर्दै आएको रेखा कलेक्सनको अवस्था पनि उस्तै छ। सञ्चालक रेखा खनालका अनुसार भोटेकोशी बाढीअघि दैनिक ५० हजार रुपैयाँभन्दा बढीको सामान बिक्री हुने गरेको थियो। अहिले १० हजार रुपैयाँ पुर्याउनसमेत मुस्किल छ।
भारतबाट सामान आयात गर्दै आएको उनको पसलमा नयाँ सामान ल्याउनसमेत समस्या भएको छ। विगतमा चाडबाडमा अर्डर धान्न नसक्ने अवस्था हुने गरेको स्मरण गर्दै उनी अहिलेको व्यापारलाई शून्यजस्तै मान्छिन्।

‘विगतका वर्षमा अर्डर पुर्याउन नै सकिँदैन थियो, चाडबाडको समयमा त खाना खाने फुर्सद पनि हुँदैन थियो। दिनकै ६ हजारभन्दा बढी पिससम्म जान्थ्यो, अहिले मुस्किलले एक-डेढ सय पिस जान्छ,’ खनालले भनिन्।
असनमा सारी-कुर्ताको व्यापार गर्दै आएकी लक्ष्मी लामाको पीडा पनि उस्तै छ। विगतमा उनका रिटेल ग्राहकले एकपटकमा ५० पिससम्म सामान लैजान्थे। अहिले ५ पिस लैजान पनि ग्राहक तयार नहुने अवस्था आएको उनी बताउँछिन्।
एक-डेढ वर्षअघिसम्म व्यापार राम्रो भए पनि गत वर्षदेखि क्रमशः खस्किँदै गएको उनको अनुभव छ। नयाँ सरकार आएपछि व्यापार व्यवसायमा सुधार आउने अपेक्षा गरे पनि अवस्था फेरिन नसकेको उनको गुनासो छ।

‘दिनभरीमा ६, ७ वटा पनि सारी बिक्री हुँदैन, पहिले बिहानदेखि बेलुकासम्म एक लाखसम्म सारी बेचिन्थ्यो। अहिले शून्यजस्तै छ, आफूले जानेको यही हो, छोडेर कहाँ जाने? व्यापार हुँदैन, निकै गाह्रो छ,’ लामाले भनिन्।
असनस्थित सारी प्यालेसमा पुग्दा पसलमा एक जना पनि ग्राहक थिएनन्। तीजलाई लक्षित गरेर भदौअघि नै भारतबाट सारी-कुर्ता ल्याएका व्यापारी दीपक पोदारका अनुसार यस वर्ष व्यापार करिब ९० प्रतिशतसम्म घटेको छ।
व्यापार सुस्त भएपछि होलसेल व्यापारीहरू पनि रिटेलतिर लाग्न थालेका छन्। पहिले ठूलो परिमाणमा सामान लैजाने ग्राहक नआएपछि एक/दुई थान सामान लिन आउनेलाई पनि बिक्री गर्नुपर्ने अवस्था आएको व्यापारीहरू बताउँछन्।

तीजमै यस्तो, दसैंतिहारमा बजार होला कस्तो?
सामान्यतया भदौ लागेसँगै काठमाडौंका प्रमुख व्यापारिक क्षेत्रमा चहलपहल बढ्न थाल्छ। तीजको खरिदसँगै दसैंतिहारका लागि बजार तयार हुन थाल्छ। कपडा व्यवसायीका लागि यही समय वर्षकै महत्त्वपूर्ण व्यापारिक सिजन हो।
तर, यसपटक तीजमै बजारको दृश्य उल्टिएको छ। पसल खुलेका छन्, सामान सजिएका छन्, तर बिक्री छैन। गोदाममा चाडबाडका लागि ल्याइएका सामान थन्किएका छन्। होलसेलका ठूला अर्डर घटेका छन्। खुद्रा ग्राहकको खरिद क्षमता खुम्चिएको छ।
व्यवसायीहरूका अनुसार भोटेकोशीको बाढीले बजारको मनोविज्ञानमा समेत असर पारेको छ। ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित परिवारका लागि चाडबाडभन्दा क्षति सम्हाल्नु र दैनिकी चलाउनु प्राथमिकता बनेको उनीहरूको बुझाइ छ। त्यसको असर काठमाडौंका व्यापारिक केन्द्रमा समेत परेको उनीहरू बताउँछन्।


प्राकृतिक विपत्तिसँगै आर्थिक अनिश्चितता, कमजोर माग र अनलाइन व्यापारको विस्तारले परम्परागत कपडा व्यवसायलाई थप दबाबमा पारेको व्यापारीहरूको अनुभव छ। राजनीतिक परिवर्तन र प्राकृतिक विपत्तिले पटक-पटक व्यापारमा असर पार्ने गरेको उनीहरूको गुनासो छ।
अहिले व्यापारीका अगाडि सबैभन्दा ठूलो प्रश्न यही छ, वर्षकै मुख्य व्यापारिक मौसममै बिक्री भएन भने बाँकी वर्ष कसरी धान्ने?
असन, इन्द्रचोक र न्यूरोडका गल्लीमा अहिले त्यसको जवाफ देखिँदैन। सामानले भरिएका पसल र खाली काउन्टरबीच व्यापारीहरू ग्राहक आउने आशामा दिन काटिरहेका छन्। केही समयअघिसम्म ग्राहकको भीडले खुट्टा टेक्ने ठाउँ नहुने यही बजारमा अहिले मोबाइलको स्क्रिन र घडीको सुईले व्यापारीको दिन कटाइरहेको छ।











