काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरुको अनुपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अर्यालले बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्ले र कानुनमन्त्री सोविता गौतम अनुपस्थित हुँदा प्रतिनिधि सभाको बैठक स्थगित गर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
कार्यसूचीमा रहेका विधेयकसँग सम्बन्धित मन्त्री वाग्ले र गौतम अनुपस्थित भएपछि अर्यालले बैठक केही समय रोकेका थिए।
बैठक रोक्नुपरेको विषय निकालेर अर्यालले असन्तुष्टि व्यक्त गरेका हुन्। अर्यालले बैठकमा ‘पटक पटक सभाको बैठक मन्त्री नभएर स्थगित गर्नुपर्दा राम्रो सन्देश नगएको’ बताएका थिए। उनले कार्यसूचीसँग सम्बन्धित मन्त्री बैठकमा अनिवार्यरुपमा उपस्थित हुनुपर्ने बताएको एक नेताले जानकारी दिए।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि ढिलोगरी आइपुगेकी कानुनमन्त्री गौतमलाई अर्यालले ‘तपाइँहरुका कारण बैठक समयमा राख्न सकिएको छैन’ भनेका थिए।
प्रतिनिधि सभाको बैठक भएका बेलामा कम्तिमा एक जना मन्त्री अनिवार्य उपस्थितिको व्यवस्था मिलाउने जिम्मा संसदीय मामिला मन्त्रीका रुपमा गौतमकै भएको भन्दै अर्यालले ध्यानाकर्षण गराए।
मन्त्रिपरिषद्को बैठक भएका बेलामा पनि आफ्नो मन्त्रालयसँग सम्न्धित छलफल तथा निर्णय प्रस्ताव नभएको मन्त्री सभामा उपस्थित हुनुपर्ने व्यवस्थाका लागि पनि अर्यालले आग्रह गरेका थिए।
‘सभामुखले मन्त्रीहरु सयमै उपस्थित हुनुपर्छ। सरकारका मन्त्रीका कारण नै बैठकमा ढिलाइ भएको छ। बैठक रोक्नुपर्ने बिडम्बना छ भन्नुभयो,’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले भने।
मन्त्रीहरुको अनुपस्थितिलाई लिएर अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत ध्यानाकर्षण गराएका छन्। उनले सभाको काम कारबाहीप्रति मन्त्री उत्तरदायी हुनुपर्ने भन्दै संसदप्रति सरकारकोको व्यवहारलाई लिएर असन्तुष्टि जनाए।
‘मन्त्रीहरु बैठकमा अनिवार्य बस्नुपर्ने हो। मन्त्रीहरुका कारण राम्रो सन्देश गइरहेको छैन भनेर सभामुखले भन्नुभएको छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले भने सभामुखले गराएको ध्यानाकर्षणबारे केही बताएनन्।









