काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनविरुद्ध अर्को प्रतिवेदन अघि सारेका छन्।
बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन सुझावसहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन लेखनको जिम्मेवारी पाएका पोखरेलले महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएर त्यसलाई विशेष महाधिवेशनमा रूपान्तरण गर्दै ओलीलाई हटाउन सकिने उल्लेख गरेका थिए।
उक्त प्रतिवेदनलाई ओलीले दराजमा थन्काइदिएका थिए भने बादलले सचिवालयमा प्रस्तुत गर्न मानेका थिएनन्। बादलले शुक्रबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकमा प्रस्तुत गर्न तयार पारेको प्रतिवेदनमा ओलीलाई पदबाट हटाउन सर्वथा गलत भएको निष्कर्ष निकालेका छन्। ‘निष्कर्षमा भन्नु पर्दा पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई विस्थापन गर्ने कोसिस व्यर्थ छ,’ प्रतिवेदनमा उल्लेख छ।
बादल र पोखरेल दुवैको प्रतिवेदन कार्यदलमा प्रस्तुत गर्ने तयारी छ।
ओलीका कारण फागुन २१ को चुनावमा एमाले पराजित भएको भन्ने पोखरेलको प्रतिवेदनलाई बादलले अस्वीकार गरेका छन्। उनले सबै पदाधिकारीले एमाले पराजयको जिम्मा लिनुपर्ने बताएका छन्। ‘एउटा मात्र चुनावको विजय पराजय नेतृत्वको दाबी र विस्थापनको लागि पर्याप्त कारण हुन सक्दैन । पटक पटक निर्वाचनमा पराजित व्यक्तिहरू समेत पार्टी नेतृत्वका निम्ति योग्य र सक्षम ठहरिएर जिम्मेवारी बहन गरेका दृष्टान्त अनेकन् रहेका छन्,’ बादलले भनेका छन्।
पार्टीले निर्वाचन परिणामको गलत आकलन हुनुमा तल्लो तहबाट आएको गलत रिपोर्टिङ र मनोगत विश्लेषणलाई मुख्य कारण मानेको छ। एमालेले यसअघि पनि पटक-पटक हार र पुनरागमनको सामना गरिसकेकाले एउटा मात्र चुनावको परिणामका आधारमा निराश हुन नहुने बादलको प्रतिवेदनको निष्कर्ष छ।
बादलले आफूले एमाले संसदीय दलको नेताका रूपमा संसदमा व्यक्त गरेको विचारविरुद्ध एमाले पदाधिकारी लागेको भन्दै त्यसलाई पार्टी विरोधी गतिविधि भनेका छन्। ओली पक्राउ परेपछि पार्टीले आन्दोलन गर्न नसकेको तथा सरकारविरुद्ध उत्रनुपर्ने एमाले नेताहरूले सरकारलाई नै सहयोग पुग्ने काम गरेको बादलको भनाइ छ।









