सीके राउतले निकालेका दीपकलाई बालेनले बनाए मन्त्री, तत्कालका लागि ग्यास अभाव हटाउने चुनौती

बिजमाण्डू
२०८३ भदौ २५ गते १८:४९ | Sep 10, 2026
सीके राउतले निकालेका दीपकलाई बालेनले बनाए मन्त्री, तत्कालका लागि ग्यास अभाव हटाउने चुनौती


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले ग्यास उद्योगीलाई पाता कस्ने विवादास्पद अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाएर उनको ठाउँमा दीपककुमार साहलाई ल्याएका छन्।

Vigo
GBIME
Tata

गौरीकुमारीले राजीनामा दिएको केही घण्टामै बालेनले दीपकलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्। बालेनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दीपकलाई मन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका छन्। दीपक सुनसरी-४ बाट निर्वाचित सांसद हुन्।

दीपक फागुन २१ को निर्वाचनको केही समयअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए।

रास्वपा प्रवेशअघि उनी जनमत पार्टीमा थिए। पार्टी अध्यक्ष सीके राउतले उनलाई उपाध्यक्ष बनाएका थिए। सुरुवातमा राउतसँग हिमचिम रहे पनि पार्टीभित्र आफू निकटलाई मात्रै अवसर दिएको भन्दै दीपक असन्तुष्ट बनेपछि दुई जनाको सम्बन्ध बिग्रिंदै गएको थियो।

राउतसँगको सम्बन्ध बिग्रिएपछि दीपकले पार्टी विभाजनको निर्णय गरे। राउतले उनलाई अनुशासनको कारबाही गरेर निष्कासन गरे।  

जनमतबाट बाहिरिएपछि दीपकले पार्टी विभाजनको प्रयासस्वरुप जनस्वराज पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए। तर, अदालतले सिके राउतको पक्षमा फैसला गर्‍यो। दीपकको दललाई मान्यता दिएन। त्यसपछि उनले सर्वोदय पार्टी दर्ता गराए।

तर, उनी फागुन २१ गतेको निर्वाचनमा भने रास्वपाबाट चुनावमा होमिए। उनले चुनावमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई हराएका थिए। दीपकले ४२ हजार ७७१ मत ल्याउँदा कार्कीले १६ हजार ५८७ मतमा चित्त बुझाएका थिए। 

दीपक मेकानिकल इन्जिनियर हुन्। उनले पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र नेपाल खुला विश्वविद्यालयबाट प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका छन्। उनीसँग विभिन्न जलविद्युत् परियोजनामा इन्जिनियर र व्यवस्थापकका रूपमा काम गरेको पनि अनुभव छ।

नवनियुक्तमन्त्री दीपकसामु तत्कालका लागि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउनुपर्ने मुख्य चुनौती छ। पृथ्वी राजमार्ग भदौ १४ देखि बन्द हुँदा आपूर्ति प्रभावित भएर काठमाडौं उपत्यकामा अहिले ग्यासको हाहाकार छ।

ग्यासको हाहाकारलाई लिएर गौरीकुमारीले बुधबार संसदीय समितिमा उद्योगी र कर्मचारीप्रति जथाभावी अभिव्यक्ति दिएकी थिइन्।

उनले राजमार्ग बन्दले आपूर्ति प्रभावित भएको थाहा हुँदा हुँदै उद्योगीले हाहाकार सिर्जना गरेको भन्दै उनीहरुलाई पाता कस्नु पर्ने बताएकी थिइन्। साथै उनले कर्मचारीमाथि पनि उद्योगीको इशारामा चलेको आरोप लगाएकी थिएन्।

यो पृष्ठभूमिमा नवनियुक्तमन्त्रीले ग्यासको हाहाकार अन्त्यका लागि उद्योगीको साथ लिएर काम गर्नुपर्नेछ।