काठमाडौं। एप्पलले आइफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा भेरिएबल एपर्चर भएको मेन क्यामेरा ल्याएको छ। नयाँ क्यामेराले फोटो तथा भिडियो खिच्दा लाइट, फोकस र डेप्थ अफ फिल्डमा प्रयोगकर्तालाई थप नियन्त्रण दिनेछ।
एप्पलले बुधबार आयोजित ‘सरप्राइज एन्ड शाइन’ कार्यक्रममा नयाँ क्यामेरा प्रविधि सार्वजनिक गरेको हो। यससँगै कम्पनीले कन्टेन्ट क्रियटरका लागि फोटोको वास्तविक स्रोत प्रमाणित गर्ने नयाँ ‘एप्पल रेफरेन्स इमेज’ प्रणाली पनि ल्याएको छ।
भेरिएबल एपर्चरले क्यामेराको लेन्सभित्रबाट सेन्सरमा पुग्ने लाइटको मात्रा नियन्त्रण गर्छ। यसअघि आइफोनमा एपर्चर स्थिर हुने भएकाले फरक प्रकाशमा क्यामेराले सफ्टवेयरमा बढी निर्भर हुनुपर्थ्यो।
आइफोन १८ प्रोमा एपर्चर इमेजअनुसार भौतिक रूपमा खुल्ने र बन्द हुने गरी मिलाइएको छ। एप्पलले यसका लागि कपालभन्दा पनि पातला ६ वटा लेजर-कट ब्लेड प्रयोग गरेको जनाएको छ।
कम प्रकाश भएको अवस्थामा एपर्चर खुल्दा सेन्सरसम्म करिब ५० प्रतिशत बढी लाइट पुग्नेछ। उज्यालो अवस्थामा एपर्चर साँघुरो हुँदा एक्सपोजर नियन्त्रणसँगै इमेजको धेरै भाग फोकसमा राख्न सहयोग गर्नेछ।
यसले फोटोमा डेप्थ अफ फिल्डमाथि थप नियन्त्रण दिनेछ। डिजिटल रूपमा बनाइएको ब्याकग्राउन्ड ब्लरमा मात्र निर्भर नभई कन्टेन्ट क्रियटरले प्राकृतिक र सिनेमाटिक देखिने तस्बिर बनाउन सक्नेछन्।
एप्पलले भिडियोका लागि पनि नयाँ फिचर थपेको छ। नियमित रूपमा रेकर्ड गरिएको भिडियोमा पछि ‘सिनेमाटिक मोड’ लागू गर्न सकिनेछ।
नयाँ क्यामेराले ६० फ्रेम प्रति सेकेन्डमा भिडियो खिच्न मिल्छ। यसबाट इडिटिङका क्रममा फुटेजलाई आधा गतिमा स्लो मोसन बनाउन सकिनेछ।
एप्पलले क्यामेराको गुणस्तरसँगै फोटो वास्तविक हो भन्ने प्रमाणित गर्ने प्रविधिमा पनि जोड दिएको छ। कम्पनीले ‘एप्पल रेफरेन्स इमेज’मार्फत वास्तविक क्यामेराबाट खिचिएको तस्बिर प्रमाणित गर्ने प्रणाली ल्याएको हो।
यो प्रणालीले फोटो खिच्ने क्रममा आइफोनको क्यामेरा सेन्सरबाट प्राप्त जानकारी प्रयोग गर्छ। यसमा पिक्सेल तहमा तयार हुने विशेष डिजिटल सिग्नेचरसमेत समावेश हुन्छ।
फोटोको प्रमाणीकरण आवश्यक परे क्यामेरा एपमा रहेको ‘रेफरेन्स मोड’ प्रयोग गर्न सकिनेछ। एप्पलको प्राइभेट क्लाउड कम्प्युटले फोटोको रअ डेटा, खिचिएको समय र सेन्सरका पहिचानसम्बन्धी विशेषता जाँच गर्नेछ।
प्रमाणित फोटोमा ‘रेफरेन्स’ ब्याज देखिनेछ। उक्त प्रमाणीकरण आइफोन, आईप्याड वा म्याकबाट जाँच गर्न सकिनेछ।
एआईबाट बनाइएका र इडिट गरिएका तस्बिर बढ्दै गएको अवस्थामा यस्तो प्रविधिले कन्टेन्ट क्रियटरलाई आफ्नो फोटोको स्रोत प्रमाणित गर्न सहयोग गर्ने एप्पलको भनाइ छ।











