काठमाडौं। राहदानी माग गर्ने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बढेपछि राहदानी विभागले आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ।
विभागले सेवाग्राहीको चाप व्यवस्थापन गरी सहज रूपमा सेवा प्रवाह गर्न तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको हो।
विभागले नयाँ राहदानी प्रणाली सुरु भएदेखि सेवाग्राहीलाई निरन्तर रुपमा वितरण गर्दै आएको तर अहिले अत्यधिक माग बढेकाले व्यवस्थापन गर्न गाह्रो भएको बताएको छ।
विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद असोज २६ गतेसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ।
२०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाले अत्यावश्यक अवस्थामा बाहेक नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई आवेदन पेस गर्न विभागले आग्रह गरेको छ।










