काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूलाई तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई पालैपालो शीतल निवास बोलाएर छलफल गरी बाढीले क्षतिग्रस्त सडक सञ्चालन गर्न र पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रपतिले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा सरकारको क्षमताले नभ्याए ठूला बेलीब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन सुझाव दिएको उनको सचिवालयले जनाएको छ।
पौडेलले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउन पनि सुझाव दिए।
राष्ट्रपति पौडेलले २२ गते बाढी प्रभावित क्षेत्रको अवलोकन गरी होल्डिङ सेन्टरमा रहेका प्रभावितहरुसँग कुरा गरेका थिए।

मन्त्री खनालसँगको छलफलमा सांसद अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी थिए। मन्त्री खनाल र लम्सालले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण गर्ने गरी काम भइरहेको बताएका थिए।
उनीहरुले लामो बेलीबब्रिजका लागि मित्रराष्ट्रहरूलाई आग्रह गरिसकेको तथा ती सामग्रीहरू आउनेक्रममा रहेको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।










