काठमाडौं। नेपाल भलिबल लिगमा बुधबार दुईवटा खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल ४ बजे र दोस्रो खेल साँझ ७ बजे सुरु हुनेछ।
आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स र खप्तड फाल्कन्स भिड्नेछन्। खप्तड प्रतियोगिताको पुछारमा रहेको टोली हो।
३ खेल खेलिसक्दा खप्तडले एउटै जित निकाल्न सकेको छैन। खप्तडको यही लयको फाइदा उठाउने लक्ष्यमा रहनेछ अन्नपूर्ण।
अन्नपूर्णले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ। तालिकामा ६ अंकसहित तेस्रो स्थानमा रहेको उसले खप्तडलाई सोझो सेटमा हराउन सके ९ अंकसहित शीर्षस्थानमा पुग्नेछ।
हालसम्म अपराजित रहेको एकमात्र टोली कर्णाली शिवराज ८ अंकसहित शीर्षस्थानमा छ। अर्कोतर्फ खप्तड खेलमा लय टिप्ने लक्ष्यमा हुनेछ। चौथो खेलमा पुगेर भए पनि पहिलो जित निकाल्दै प्लेअफ पुग्ने झिनो आशालाई जीवित राख्न चाहन्छ।
बुधबारको दोस्रो खेल अझ महत्त्वपूर्ण छ। यो खेलमा शीर्ष स्थानको कर्णाली शिवराजले काठमाडौं रेड्ससँग भिड्नेछ।
जारी प्रतियोगितामा नेपाली र विदेशी खेलाडीको राम्रो सन्तुलन बनाएको कर्णाली जितको श्रृङ्खलालाई कायमै राख्दै सिधै फाइनल खेल्न दाबेदारी दिनेछ।
अर्कोतर्फ काठमाडौंले ३ खेलबाट ५ अंक बनाएको छ। उसलाई प्लेअफको होडमा बलियो बन्न जित्न पर्ने दबाब हुनेछ। उसले सोझो सेटमा जित निकाल्न सके शीर्षस्थानको कर्णालीसँग अंक बराबरी गर्न सक्छ। तर, कर्णालीको लय हेर्दा काठमाडौंलाई सहज हुने देखिँदैन।











