काठमाडौं। बाढीपछि ध्वस्त संरचना पुनर्निर्माणमा दक्षिण कोरियाले सहयोग गर्ने इच्छा देखाएको छ।
कोरियाका विदेशमन्त्री छाे ह्युनले आइतबार परराष्ट्रमन्त्री शिशिर खनालसँगको वार्तामा नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको प्रयासमा आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएका छन्।
उनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपालसँग सहकार्य गर्ने समेत बताएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।
कोरियनमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्ने बताए।
उनले नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले आफ्ना तर्फबाट आवाज उठाउने प्रतिबद्धता जनाए।
परराष्ट्रमन्त्री खनालले पनि विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अब ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार काम गर्ने र यसमा कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास रहेको बताए।
उनले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन विज्ञको टोली पठाएकामा कोरिया सरकारप्रति आभार व्यक्त गरे। उनले बाढी पीडित नागरिकका लागि कोरिया सरकारले राहत सामग्री उपलब्ध गराएकामा धन्यवाद् दिए।











