सडक अवरुद्ध भएपछि निगमले दुई दिनमा त्रिभुवन राजपथबाट ल्यायो साढे ५८ हजार सिलिन्डर



बिजमाण्डू
२०८३ भदौ २० गते १८:३५ | Sep 5, 2026
सडक अवरुद्ध भएपछि निगमले दुई दिनमा त्रिभुवन राजपथबाट ल्यायो साढे ५८ हजार सिलिन्डर
फाइल तस्बिर।


काठमाडौं। बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको छ।

Vigo
GBIME
Tata

निगमका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था मिलाइएको हो।

निगमले उपत्यकाका लागि विभिन्न डिपोबाट पेट्रोलियम पदार्थ ल्याउने व्यवस्था मिलाएको छ। ग्यास उद्योगलाई सार्वजनिक बिदाका दिनमा समेत सिलिन्डर भर्न र बजारमा पठाउन निर्देशन दिइएको निगमले जनाएको छ।

निगमका अनुसार त्रिभुवन राजपथ हुँदै भदौ १८ गते उपत्यकाका लागि करिब २४ हजार ५०० सिलिन्डर ग्यास ल्याइएको छ। भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर ग्यास उपत्यका ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

खोज तथा उद्धारमा खटिएका हेलिकप्टरका लागि पनि आवश्यक हवाई इन्धनको व्यवस्था गरिएको छ। नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हेलिकप्टर सेवाका लागि इन्धन उपलब्ध गराइएको निगमले जनाएको छ।

भदौ १० गतेदेखि हालसम्म नेपाली सेनाको ब्यारेकबाट हेलिकप्टरका लागि १ लाख ३० हजार लिटर हवाई इन्धन पठाइएको छ। उद्धार तथा राहत कार्यलाई आवश्यक इन्धन अभाव हुन नदिन आपूर्ति नियमित राखिएको निगमले जनाएको छ।

त्यस्तै, विपद् प्रभावित क्षेत्रमा रहेका परिवारका लागि ग्यासको व्यवस्था पनि गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटमा हालसम्म ७५७ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जानकारी दिएको छ।