काठमाडौं। शुक्रबार बिहान हिराशोभा महर्जनले सुरुमा जे सुनिन् त्यसलाई विश्वास नै गर्न सकिनन्। उनलाई खबर आएको थियो – कबिर महर्जन भेटिए, ज्यूँदै। रसुवामा हिउँ पहिरो सहितको बाढीपछि ‘त्रिशूली-थ्री ए’ को सुरुङभित्र ‘गायब’ कबिर फर्केलान् भन्ने आशा मर्दै गइरहेको थियो। त्यत्तिकैमा आएको फोनलाई हिराशोभाले पत्याइहाल्न सकिनन्।
नेपाली सेना सहित सुरुङ खोतलिरहेका उद्धारकर्मीलाई थप ऊर्जा दिनेगरी कबिर भेटिए शुक्रबार बिहान ९:३० को आसपास। उद्धारकर्ताका लागि यो सफलतामात्र थिएन, उनको परिवारका लागि ‘मिराकल’ नै थियो।
‘सुरुमा पत्याइन। त्यसपछि रुन थालेँ। आफन्तहरू पनि रुन थाल्नुभयो,’ हिराशोभाले भनिन्।

शुक्रबार सुरुङबाट कबिरको उद्धार भएपछि प्राथमिक उपचार गरियो र सोझै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्याइएको थियो।
अस्पतालमा पुगेकी उनले कबिरलाई भेटिन्। भेटपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘यो नौ दिन मेरा लागि एकदमै कष्टकर रह्यो। मलाई त त्यति कष्ट पर्यो भने उहाँलाई कति कष्ट भएको होला?’

हिराशोभाले कबिरलाई अस्पताल बेडमा पुगेर सोधिन्, ‘मलाई चिन्नुभयो?’ उनका अनुसार उनले टाउको हल्लाएर चिनेको संकेत गरे। त्यसपछि अमिरलाई पानी खुवाएर बाहिरिइन् उनी।
भदौ १० गते मंगलबार त्रिशुली पुगेका थिए कबिर। त्यसो त शुक्रबार मात्रै उनी जाने तयारी थियो। भित्र मेसिन बिग्रिएको खबर आएलगत्तै सेड्युलभन्दा पहिले नै उनी घर छाडेर हिँडेका थिए उनी।
४५ वर्षीय कबिरका परिवार र आफन्तहरू यतिखेर अस्पतालमा आइपुगिसकेका छन्। उनीहरू सबैमा खुशी र कौतुहलता देखिन्छ। उनका भाइ अमिर महर्जन अस्पतालमा दाजुको हेरचाहमा जुटिसकेका छन्। हर्लिक्स तथा फलफूल बोकेर उनी बाहिर भित्र गरिरहेको देखिन्छ।

शुक्रवार सञ्जय साहको पनि सुरुङबाट उद्धार भएको छ। उनको परिवारको कथा पनि अमिरको भन्दा फरक छैन। ३० वर्षीय सञ्जय साहको जेठान देवकुमार साह अस्पतालमा आइपुगेका छन्।
‘हामीले त आशा मारिसकेका थियौं,’ देवकुमारले भने, ‘सञ्जयका बुबाले हिजोमात्रै अस्पताल गएर रगत चेक गर्न दिनुभएको थियो डिएनएका लागि।’
उनका अनुसार शव भेटिने आशमा सञ्जयका बुबाले स्याम्पल दिएका थिए।

देवकुमार साहले ज्वाइँलाई भेट्न भने पाएका छैनन्। उनलाई आइसीयूमा राखिएकाले भेट्न नपाएका हुन्। ज्वाइँको खोजीमा देवकुमार पाँच दिन त्रिशुली पुगेका थिए। त्यहाँ केही नलागेपछि प्रहरीसमेत रहेका उनी आशा मारेर फर्किएका थिए।
शुक्रवार भेटिएका दुवैजना उक्त जलविद्युत आयोजनका मेकानिकल इन्जिनियर हुन्। यी दुवैलाई उद्धार गर्न सकिएसँगै टनेल र पावरहाउस भित्र थप मानिसलाई जोगाउन सकिने सम्भावना बढेको छ।

परिवार र उद्धारकर्ता तथा सबैका लागि यो घटनाले उत्साहित बनाएको छ।











