टेक जायन्ट एनभिडियाले नेपाललाई बाढीपछिको राहत र पुनर्स्थापनाका लागि सहयोग रकम हस्तान्तरण गरेको छ।
एनभिडिययाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङले १ करोड अमेरिकी डलर सहयोग रकम पठाएका हुन्। नेपाली रुपैयाँमा यो रकम हाल साढे एक अर्ब रुपैयाँ भन्दा बढी हुन्छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सो रकम सहयोग गरेको जानकारी दिएका हुन्।
एनभिडिया चिप निर्माणसँगै सफ्टवेयर डेभलप्मेन्ट लगायत कम्प्युटिङ सम्बन्धी विश्वको अग्रणी कम्पनी हो।
गत साता केरुङ-रसुवा हुँदै आएको बाढीले नेपाल र चीन दुवैतर्फ ठूलो क्षति पुगेको छ। बाढीबाट पिडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले कोषमा सहयोग गर्न आह्वान गरेको हो।
कोषमा व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्ने क्रम जारी छ। मित्रराष्ट्र र विदेशी संघसंस्थाबाट पनि कोषमा सहयोग रकम हस्तान्तरण भइरहेको छ। त्यससँगै राहत र उद्धारका लागि पनि सामाग्रीहरु पठाइँदैछ।
एनभिडियाले गरेको सहयोग कोषमा हालसम्मकै ठूलो सहयोग रकम हो। अर्थमन्त्री वाग्लेले ह्वाङलाई सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
वाग्लेले हाल कोषमा १० अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन भएको जानकारी दिएका छन्।










