काठमाडौं। एसटीसी ग्रुपले भोटेकोशी नदिमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ।
एसटीसी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो। यसमध्ये १० लाख रुपैयाँ भारतीय कम्पनी भेरोक इन्टरनेसनलले उपलब्ध गराएको हो। एसटीसी ग्रुपले भेरोक इन्टरनेसनलको आधिकारिक वितरकका रुपमा काम गर्दै आएको छ।
सहयोग रकमको चेक एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।
‘भोटेकोशी नदीमा आएको बाढीले धेरै परिवारको जनजीवन प्रभावित बनाएको छ। यस्तो कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने विश्वासका साथ हामीले सहयोग गरेका हौं,’ उप्रेतीले भने, ‘हाम्रो सानो सहयोगले प्रभावित परिवारको पुनर्स्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौं।’
एसटीसी ग्रुपले अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट तथा टायर बिक्री वितरण गर्दै आएको छ।










