काठमाडौं। ठेक्काका सम्झौता अनुसार काम नगरेपछि सम्बद्ध कार्यालयहरुको सिफारिसमा पाँच निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। तीन वटालाई एक/एक वर्ष, एउटालाई दुई र एउटालाई तीन वर्षका लागि कार्बाही गरेको बिहीबार जारी सूचनामा छ।
तीन वर्षका लागि कार्बाहीमा पर्नेमा धनुषाको अभिनाश निर्माण सेवा छ। दीपककुमार साह मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई कार्बाही सिफारिस काठमाडौंको बबरमहलस्थित संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयले गरेको हो।
दुई वर्षको कार्बाहीमा पर्नेमा काठमाडौं तीनकुनेको गणपति ग्रुप अफ कन्स्ट्रक्सन छ। ठेक्काको सम्झौताअनुसार काम नगर्दा उक्त कम्पनीलाई कार्बाही गर्न गोरखाको पालुङटारस्थित मध्यपहाडी राजमार्ग योजना कार्यालयले लेखिपठाएको हो।
एक वर्षका लागि कालोसूचीमा पर्नेमा काठमाडौंको इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, सुनसरी दुहबीको बस्नेत निर्माण सेवा र दाङ घोराहीको सी. ब्रदर्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि छन्।
सूचीमा परेका कम्पनीले कार्बाही अवधिभर सार्वजनिक खरिदमा भाग लिन पाउँदैनन्।










