काठमाडौं । बुधबार बिहान चीनको केरुङ र नेपालको रसुवा, धादिङलगायतका जिल्लामा ठूलो क्षति हुने गरि गएको बाढीको स्रोत के हो? यसबारे चीन र नेपालमा मात्रै छलफल भए। विश्वभर यो विषय चासोको केन्द्रमा पर्यो। कसैले हिमताल फुटेको त कसैले भूकम्पपछि हिमपहिरो गएको भने।
आ-आफ्नो दाबी चलिरहँदा चिनियाँ विशेषज्ञहरुले नेपालको लाङटाङ लिरुङ हिमालको दक्षिणी भेगमा रहेको एक हिमनदीबाट ५ हजार २०० मिटरको उचाइमा फुटेर गएको हिउँ चट्टान पहिरो नै बाढीको स्रोत भएको ठहर गरेका छन्। यसमा पछिल्लो समय नेपाली पक्ष पनि सहमत देखिएका छन्।
बुधबार चीनको सिजाङ प्रान्तस्थित केरुङ बन्दरगाहलाई तहसनहस गर्दै लेदोसहितको बाढी पहिरो रसुवा प्रवेश गर्नुको कारण तीव्र गतिमा आएको सोही हिउँ चट्टान पहिरो नै रहेको बताइएको छ।
नेपालतर्फको लाङ्टाङ लिरुङ हिमालको दक्षिणी भेगबाट आएको हिमचट्टान पहिरोले नै बाढी निम्त्याएको स्याटलाइट तस्विरहरुले पनि पुष्टि गर्छ। पछिल्लो समय पर्यटकहरुले खिचेका भिडियोहरु पनि सामाजिक संजालमा भाइरल भएका छन्। जसले करिब ५ हजार २०० मिटरको उचाइमा हिमनदीसँग जोडिएको बरफ र चट्टानको ठूलो भाग छुट्टिएर तल खसेको पुष्टि गर्छ।
उच्च हिमाली क्षेत्रमा भएको यो प्राकृति विपद्ले सुरुमा ठूलो हिउँ चट्टान पहिरोको रुप लिएको देखिन्छ। तर तल झर्दै जाँदा यसको प्रकृति बदलिएको देखिन्छ। करिब ४ हजार मिटरको उचाइमा पुग्दा यसले पहाडको सतहलाई समेत काट्दै र घिसार्दै अघि बढेको अध्ययनकर्ताहरुले भनेका छन्। यस क्रममा बाटोमा रहेका ढुंगा, माटो, हिउँ र पानीसमेत यसमा मिसिँदै गएको देखिएको छ। त्यसले यसबाट विनाश धेरै हुन पुगेको देखिन्छ।
एउटा ठूलो हिमचट्टान पहिरो विस्तारै विशाल गेग्रान बहावमा परिणत हुँदा नेपाल र चीन दुवै तर्फ ठूलो क्षति पुगेको छ। हिमालको करिब ४ हजार मिटर उचाइबाट तलतिर झर्दै आएको यो विशाल गेग्रान बहावले करिब २२ किलोमिटर दूरी पार गरेर रसुवागढी नाका पुगेको थियो। अन्ततः करिब १ हजार ८ सय मिटरको उचाइमा रहेको केरुङ बन्दरगाह तहसनहस भयो।
नेपालतर्फ यो विपद् ल्हेन्दे खोलाको नदी प्रणालीमा प्रवेश गर्यो। हिमचट्टानको तीव्र बहावले नदीमा पानी, ढुंगा, माटो र बगाउँदै ल्याएका सामानहरु मिसिँदै गए। त्यसपछि नदीको बहाव अचानक असामान्य रुपमा बढ्यो र भोटेकोसी हुँदै त्रिशुली र नारायण नदीसम्म यसले प्रभाव पार्यो।
लाङटाङ लिरुङ हिमालको दक्षिणी भेगबाट खसेको हिम चट्टानले ७ मिनेटमै कसरी केरुङ-रसुवा क्षेत्रमा प्रवेश गेर इतिहासकै ठूलो विपद् निम्त्यायो। भिडियोमा हेर्नुहोस् बिजमाण्डूको ग्राफिकल एक्सप्लेनेसन –











