पेट्रोलियम पदार्थ भित्र्याउन त्रिभुवन र कान्ति लोकपथ उपयुक्त, ‘सरकारले निर्णय गर्नेबित्तिकै ल्याउन थाल्छौं’



बिजमाण्डू
२०८३ भदौ १४ गते १७:२० | Aug 30, 2026
पेट्रोलियम पदार्थ भित्र्याउन त्रिभुवन र कान्ति लोकपथ उपयुक्त, ‘सरकारले निर्णय गर्नेबित्तिकै ल्याउन थाल्छौं’


काठमाडौं। नेपाल आयल निगमले काठमाडौंलाई आवश्यक पर्ने पेट्रोल, डिजल र हवाई इन्धन वैकल्पिक मार्ग प्रयोग गरेर ल्याउने भएको छ।

Vigo
GBIME
Tata

निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच आइतबार भएको छलफलमा त्रिभुवन राजपथ र कान्ति लोकपथबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने निर्णय भएको हो।

‘पृथ्वी राजमार्गको कृष्णभीरको सडक भासिएपछि तत्कालै व्यवसायीलाई बोलाएर छलफल गरिसकेका छौं। हामीले वैकल्पिक मार्ग प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने निर्णय समेत गरिसकेका छौं,’ निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बिजमाण्डूसँग भने, ‘काठमाडौंलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ ल्याउन सक्छौं।’

त्रिभुवन राजपथबाट हेटौंडा, दामन, पालुङ हुँदै नौबिसेमार्फत पेट्रोलियम ट्यांकर ल्याउन सकिन्छ। हेटौंडादेखि नौबिसेसम्मको दूरी १०७ किलोमिटर छ।

यस्तै कान्ति लोकपथ ९२ किलोमिटर लामो छ। यो सडक चापागाउँ, सुनाकोठी, ठेचो, टिकाभैरव, तीनपाने भन्ज्याङ, भट्टेडाँडा, माल्टा, थिङ्गन, मकवानपुरगढी हुँदै हेटौंडाको चौघडासम्म पुग्न सकिन्छ।

साहका अनुसार काठमाडौंबाट बाहिर ठूला बस जान बन्द हुने भएपछि डिजलको खपत ह्वातै घट्छ। सामान्य समयमा काठमाडौंमा डिजलको दैनिक खपत ७ लाख लिटर र पेट्रोलको पाँच लाख लिटर हो।

‘कृष्णभीरले पृथ्वी राजमार्ग बन्द भएपछि ठूला बस धेरै चल्दैनन्। त्यसले डिजलको खपत घट्छ। हामीले दैनिक २० ट्यांकर डिजल ल्याए हुन्छ,’ साहले भने, ‘पेट्रोलको हकमा १० ट्यांकर ल्याए पुग्ने अनुमान छ।’

साहले पेट्रोलियम पदार्थ बोक्ने गाडीका लागि डेडिकेटेड सडक भए सजिलो हुने बताए।

‘सरकारले पनि कुनै निर्णय गर्ला। पेट्रोलियम पदार्थ बोक्ने ठाउँमा अरु धेरै गाडी नचलाए आपूर्तिमा असहजता हुँदैन,’ उनले भने, ‘हामी सरकारको निर्णय आउनेबित्तिकै पेट्रोलियम पदार्थ आपूर्तिलाई निरन्तरता दिइहाल्छौं। हामीसँग अमलेखगंजमा जति चाहियो त्यति पेट्रोलियम पदार्थ स्टक छ।’

साहले यी दुई राजमार्गबाट ट्यांकर ल्याउँदा कुनै समस्या नभए अमलेखगंजदेखि ६ घण्टामा काठमाडौं ल्याउन सकिने बताए।