काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजी बजारको अवस्था नाजुक बन्दै गएको भन्दै यसको कारण पत्ता लगाउने बताएका छन्।
उनले आइतबार ‘नेपालको पुँजी बजार : आर्थिक लगानीको आधार’ शीर्षकमा भएको छलफलमा फागुन २१ पछि पुँजी बजार अपेक्षाकृत रुपमा अघि बढ्नुको साटो उल्टै घटेको भन्दे यसको कारण खोज्ने बताए।
‘चुनावपछि सबैभन्दा राम्रोसँग अघि जाला भनेर अनुमान गरिएको थियो, सबै उत्साहित थिए। अपेक्षा थियो पुँजीबजारमा। अनफरचुनेटली हाम्रो पुँजी बजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेन,’ सभापति गगनले भने, ‘यसको कारण के होला? अप्ठेरा के होलान्? तत्काल सुधारका उपाय के हुन सक्छन् होला?’
गगनले संसद्मा आर्थिक मुद्दालाई प्रभावकारी रूपमा उठाउनका लागि सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालेको बताए। कांग्रेसले ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’को तेस्रो शृङ्खलामा यसबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको हो।
गगनका अनुसार कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तु र विज्ञका सुझावका आधारमा प्रतिवेदन तयार गरी सांसदहरूलाई उपलब्ध गराइने छ।
कार्यक्रममा अर्थशास्त्री, पुँजी बजारका विज्ञ र पार्टीका नेताहरूको सहभागिता थियो।











