एपमार्फत सवारी सेवा उपलब्ध गराउने कम्पनी उबर नेदरल्यान्ड्समा ठूलो जरिवानाको कार्बाहीमा परेको छ। त्यहाँका डेटा संरक्षण अधिकारीहरूले उबरलाई ९६ करोड ४० लाख अमेरिकी डलर जरिवाना गरेका छन्।
उबरले चालकका खाता निलम्बन गर्दा स्वचालित सफ्टवेयर प्रयोग गरेको र कतिपय अवस्थामा ती खाता स्थायी रूपमा निलम्बन गरिएको भन्दै जरिवाना गरिएको हो। सफ्टवेयरले गरेको निर्णयमा कुनै गल्ती भएको छ कि छैन भनेर मान्छेले समीक्षा गर्ने व्यवस्था नरहेको पनि अधिकारीहरूले बताएका छन्।
नेदरल्यान्ड्स डेटा संरक्षण प्राधिकरणले शुक्रबार उबरलाई ८२ करोड ५० लाख युरो (करिब ९६ करोड ४० लाख अमेरिकी डलर) जरिवाना गर्ने निर्णय गरेको हो। उबरले युरोपेली संघको सामान्य डेटा संरक्षण नियमावली (जीडीपीआर) उल्लंघन गरेको प्राधिकरणको भनाइ छ। युरोपेली संघका डेटा गोपनीयतासम्बन्धी नियमले पूर्ण रूपमा स्वचालित निर्णय प्रक्रियालाई निषेध गर्छ।
प्राधिकरणका अनुसार उबरले चालकहरूलाई उनीहरूका सम्बन्धमा स्वचालित रूपमा निर्णय भइरहेको जानकारीसमेत दिएको थिएन। यी उल्लंघन सन् २०१८ देखि २०२२ सम्म भएको प्राधिकरणले जनाएको छ। उबरले भने प्राधिकरणको निर्णय र जरिवानाप्रति असहमति जनाउँदै त्यसविरुद्ध अपिल गर्ने जनाएको छ।
कम्पनीले लिखित वक्तव्यमा भनेको छ, ‘डेटा संरक्षण प्राधिकरणले वर्षौंअघि नै बन्द गरिएका पुराना नीतिहरूको परीक्षण गरेको हो। चालकहरूको आम्दानी गर्ने क्षमतामा असर पार्ने निर्णयलाई हामी अत्यन्त गम्भीर रूपमा लिन्छौँ र उनीहरूप्रति निष्पक्ष व्यवहार गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ। यसमा मानवीय समीक्षा, बलिया सुरक्षा उपाय र आफूविरुद्ध भएको निर्णय गलत भएको लागेमा त्यसविरुद्ध अपिल गर्ने अवसरसमेत समावेश छन्।’
नेदरल्यान्ड्सको डेटा संरक्षण प्राधिकरणले उबरमाथि जरिवाना गरेको यो चौथो पटक हो। यसअघि सबैभन्दा ठूलो जरिवाना सन् २०२४ मा गरिएको थियो। त्यतिबेला युरोपेली चालकहरूको व्यक्तिगत विवरण पर्याप्त सुरक्षा व्यवस्था नगरी अमेरिकामा स्थानान्तरण गरेको आरोपमा २९ करोड युरो (करिब ३२ करोड ४० लाख अमेरिकी डलर) जरिवाना गरिएको थियो। (एपी)











