व्यवसायिक वातावरण सुधार गरी निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग महासंघको आग्रह



बिजमाण्डू
२०८३ भदौ ६ गते १२:०१ | Aug 22, 2026
व्यवसायिक वातावरण सुधार गरी निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग महासंघको आग्रह


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायिक वातावरण सुधार गरी उद्योगी व्यवसायीको मनोबल बढाउन सरकारसँग आग्रह गरेको छ।

Vigo
GBIME
Tata

महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायिक वातावरण बिग्रिँदै गएको र बजारमा मागसमेत कमजोर रहेकाले अर्थतन्त्र चलायमान बनाउन सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएको हो।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा वस्तुगत संघहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन आग्रह गरे।

‘सबै वस्तुगत समितिका समस्याहरू महासंघका साझा समस्या हुन्। महासंघ यी समस्या सरकारसँग राख्न र समाधानका लागि पहल गर्न सदैव तयार छ,’ अध्यक्ष श्रेष्ठले भने।

उनले अहिले व्यवसायीहरू त्रसित अवस्थामा रहेको र व्यवसायिक वातावरण कमजोर हुँदै गएको उल्लेख गर्दै उद्योगी व्यवसायीको मनोबल बढाउन सरकार गम्भीर हुनुपर्ने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको आवाज प्रभावकारी बनाउन वस्तुगत संघहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले संघहरूले आफ्ना क्षेत्रका समस्या तथ्यसहित प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले वस्तुगत संघका समस्या समाधानमा महासंघले सहजीकरण गर्ने बताए। अर्का उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले वस्तुगत संघहरू महासंघका महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै साझा समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपाध्यक्ष प्रवलजंग पाण्डेले उद्योग व्यवसायको विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र प्रतिस्पर्धी बजार आवश्यक रहेको बताए। परिषद्का उपसभापति भक्तबहादुर हमालले निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन संघहरूबीचको सहकार्य सुदृढ बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारी, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवर, नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद, नेपाल होस्टल एसोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर बोहोरा, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष भीमबहादुर गोले तामाङ र रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले आ–आफ्ना क्षेत्रका समस्या, चुनौती तथा सम्भावनाबारे धारणा राखेका थिए।

आआफ्ना व्यवसायसँग सम्बद्ध विषयमा बोलेका उनीहरूले नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सरकार र महासंघबाट आवश्यक पहल हुनुपर्ने माग गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका अध्यक्ष तथा पदाधिकारीहरूले खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए।