भारतमा पछिल्ला केही महिनायता चिनीको मूल्य तीव्र रूपमा बढिरहेको छ। सरकारी तथ्यांक अनुसार अगस्ट २० मा भारतीय खुद्रा बजारमा चिनीको औसत मूल्य प्रति किलो ५५.७ भारु पुगेको छ। एक महिनाअघि यही मूल्य ४८.१८ भारु थियो। गत वर्ष अगस्ट २० मा प्रतिकिलो ४६.३ भारु थियो।
पछिल्लो एक महिनामै करिब १६ प्रतिशतले चिनीको मूल्य वृद्धि भएको देखिन्छ। रोयटर्सका अनुसार अगस्ट महिनामा मात्रै भारतमा चिनीको मूल्य करिब २० प्रतिशतले बढेको छ।
बीबीसी हिन्दीका अनुसार भारतमा चिनीको मूल्य यसअघि यति उच्च तहमा पुगेको थिएन। कमजोर मनसुन प्रणाली, अपेक्षाभन्दा कम चिनी उत्पादन, प्रारम्भिक मौज्दातमा कमी, चाडपर्वमा बढ्दो माग र भविष्यमा अझ महँगिने डरका कारण उपभोक्ताले बढी चिनी खरिद गर्न थालेपछि बजारमा दबाब बढेको हो।
भारत विश्वमा ब्राजिलपछि सबैभन्दा ठूलो चिनी उत्पादन गर्ने देश हो। सरकारी तथ्यांक अनुसार भारतमा उखुबाट चिनी उत्पादन गर्ने ७०३ वटा उद्योग छन्। तीमध्ये ३३५ निजी, ३२५ सहकारी र ४३ सरकारी उद्योग हुन्।
भारतमा चिनी उत्पादनको वर्ष अक्टोबरदेखि सुरु भएर अर्को वर्षको सेप्टेम्बरसम्म चल्ने गर्छ। नेशनल फेडरेसन अफ कोअपरेटिभ सुगर फ्याक्ट्रिजका उपाध्यक्ष केतन पटेलका अनुसार आर्थिक वर्ष २०२५/२६ मा भारतमा करिब ३२ अर्ब किलोग्राम चिनी उत्पादन हुने अनुमान गरिएको थियो। तर, वास्तविक उत्पादन करिब ३० अर्ब किलोग्राममा सीमित भएको उनले बताए।
गत वर्ष भने अत्यधिक वर्षाले उखु उत्पादनमा असर गरेको थियो। साथै, उत्तर प्रदेशमा धेरै उत्पादन दिने सीओ–०२३८ प्रजातिको उखुमा रोग फैलिएपछि उत्पादन र चिनीको रिकभरी दर दुवै घटेको थियो। सामान्यतया १०० किलोग्राम उखुबाट १२ किलोग्रामभन्दा बढी चिनी उत्पादन हुने भए पनि यसपटक रिकभरी दर १२ किलोग्रामभन्दा तल झरेको व्यवसायीको दाबी छ।
भारतमा वार्षिक चिनी खपत करिब २६ देखि २८ अर्ब किलोग्राम हुने गरेको छ। सामान्य अवस्थामा वर्षको अन्त्यमा ६ देखि ७ अर्ब किलोग्राम चिनी मौज्दात रहने गरेको तथ्यांकले देखाउँछ। तर, २०२४/२५ को अन्त्यमा यस्तो मौज्दात करिब ५ देखि ५.५ अर्ब किलोग्राम मात्रै रहेको बताइएको छ। यो वर्षको सुरुवात नै चिनीको कम मौज्दातबाट भएको व्यवसायी बताइरहेका छन्। त्यसमाथि उत्पादन पनि अनुमानभन्दा कम भएपछि बजारमा आपूर्ति दबाबमा परेको बताइन्छ।
तर उद्योग क्षेत्रका जानकारहरू चिनीको मूल्य बढ्नुमा कमजोर मनसुनलाई मात्रै कारण मान्न तयार छैनन्।
उनीहरुका अनुसार अहिले भारतीय बजारमा ‘प्यानिक बाइङ’ भइरहेको छ। अर्थात्, भविष्यमा मूल्य अझ बढ्ने डरले व्यापारी तथा उपभोक्ताले आवश्यकताभन्दा बढी चिनी खरिद गरिरहेका छन्। मौज्दात केही कम हुनु, चाडपर्व नजिकिनु र वर्षालाई लिएर देखिएको चिन्ताले माग झन् बढाएको छ।
के भारतमा साँच्चै चिनीको अभाव छ?
भारत सरकारले भने देशमा चिनीको अभाव नरहेको दाबी गरिरहेको छ। भारत सरकारले जुलाई २८ मा जारी गरेको विज्ञप्तिमा मिलदेखि खुद्रा बजारसम्म बढेको चिनीको मूल्य वास्तविक माग आपूर्तिको अवस्थासँग मेल नखाने उल्लेख थियो।
सरकारी अधिकारीहरुका अनुसार केही व्यापारी र बिचौलियाहरुले चिनी भण्डारण गरिरहेका छन् र वास्तविक रूपमा चिनी ओसारपसार नगरी कागजमा मात्रै कारोबार गरेर बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गरिरहेका छन्। यस्ता गतिविधिका कारण मूल्यमा अनावश्यक उतारचढाव आएको सरकारको दाबी छ। घरेलु उपभोगका लागि आवश्यक चिनीको पर्याप्त मौज्दात देशमा रहेको भन्दै सरकारले उपभोक्तालाई आश्वस्त पार्ने प्रयास पनि गरिरहेको छ।
तर, बजारमा व्यापारीहरूको अनुभव भने केही फरक छ। उनीहरूका अनुसार बजारमा न त ठूलो अभाव छ, न पर्याप्त अतिरिक्त मौज्दात नै। बजारमा जति चिनी आइरहेको छ, त्यो तत्कालै बिक्री भइरहेको अवस्था छ।
भारतमा जुलाई, अगस्ट र सेप्टेम्बरलाई चिनी उत्पादनको अफसिजन मानिन्छ। यही समयमा भारतमा जन्माष्टमीसहित विभिन्न चाडपर्व सुरु हुन्छन्। चाडपर्वमा मिठाई तथा अन्य खाद्य सामग्रीको खपत बढ्ने भएकाले चिनीको माग पनि स्वाभाविक रूपमा बढ्छ।
यसपटक भने सामान्य मौज्दातभन्दा कम स्टक, उत्पादनमा कमी र भविष्यमा मूल्य अझ बढ्ने डरले मागमा थप दबाब परेको व्यवसायी बताइरहेका छन्। अक्टोबरदेखि नयाँ उत्पादन बजारमा आउन थालेपछि आपूर्ति बढ्ने र त्यससँगै मूल्य केही घट्न सक्ने सम्भावना रहेको उनीहरु बताउँछन्।
इथानोल : चिनी बजारको अर्को चुनौती
भारतमा चिनीको मूल्यसँग जोडिएको अर्को महत्वपूर्ण विषय हो इथानोल उत्पादन।
भारतले पेट्रोलमा इथानोल मिसाउने नीति अघि बढाइरहेका छ। आयातित कच्चा तेलमा निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने र प्रदूषण कम गर्ने उद्देश्यले भारतले पेट्रोलमा इथानोल मिश्रण बढाउने नीति लिइएको जनाइएको छ।
सरकारले २०१८ मा पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रणको लक्ष्य राखेको थियो। पछि यसलाई बढाएर २० प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो। त्यो लक्ष्य भारतले जुलाई २०२५ मै हासिल गरेको बताइएको छ।
चिनी उद्योगबाट उत्पादन हुने विभिन्न उपउत्पादन तथा मोलासिसबाट इथानोल उत्पादन गर्न सकिन्छ। रोयटर्सका अनुसार २०२५/२६ मा करिब ३ अर्ब किलोग्राम चिनी बराबरको मात्रा इथानोल उत्पादनतर्फ प्रयोग गरिएको थियो। यो कुल चिनी उत्पादनको करिब १० प्रतिशत हो।
यही कारण केही व्यापारी तथा विश्लेषकले इथानोलका लागि चिनीको केही हिस्सा प्रयोग हुँदा बजारमा उपलब्ध चिनीको मात्रा घटेको तर्क गरिरहेका छन्।
तर, चिनी उद्योगका अधिकारीहरू भने इथानोललाई चिनीको वर्तमान मूल्यवृद्धिको एकमात्र कारण मान्न अस्वीकार गरिरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
उनीहरूका अनुसार इथानोल कार्यक्रमले चिनी उद्योगलाई फाइदा पुर्याएको छ। त्यस्तै, किसानलाई उखुको भुक्तानी गर्न समेत सहयोग भएको छ। चिनी उत्पादनको प्रारम्भिक अनुमान नै बढी भएका कारण अहिलेको अवस्थालाई केवल इथानोलतर्फ चिनी मोडिएको परिणामका रूपमा व्याख्या गर्न नमिल्ने उनीहरूको तर्क छ।
चिनीको मूल्य आउने दिनमा कति पुग्छन् भन्ने कुरा उत्पादन, मनसुन, चाडपर्वको माग, मौज्दात र सरकारी नीतिमा निर्भर हुने व्यवसायी बताउँछन्।
उद्योग क्षेत्रका जानकारहरूका अनुसार अक्टोबरदेखि नयाँ उत्पादन बजारमा आउन थालेपछि आपूर्ति बढ्ने भएकाले मूल्यमा केही राहत आउन सक्छ। तर, नयाँ उत्पादन अपेक्षाभन्दा कम भयो वा उपभोक्ता तथा व्यापारीबीच मूल्य अझ बढ्ने मनोविज्ञान कायम रह्यो भने मूल्य तत्काल घट्न समय लाग्न सक्छ।









