नाडाले पूरा गर्‍यो ५० वर्षको यात्रा, यसपटकको अटो शो ‘द गोल्डेन जुब्ली’ एडिसन



बिजमाण्डू
२०८३ साउन २५ गते १२:३१ | Aug 10, 2026
नाडाले पूरा गर्‍यो ५० वर्षको यात्रा, यसपटकको अटो शो ‘द गोल्डेन जुब्ली’ एडिसन


काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा यसपटकको नाडा अटो शो ‘द गोल्डेन जुब्ली’ संस्करणका रुपमा आयोजना गर्ने भएको छ।

Tata
GBIME

नाडाका लागि यो अटो शो केवल नयाँ गाडी प्रदर्शन गर्ने मञ्च मात्र नभई ५ दशकको संस्थागत यात्रालाई समेत प्रस्तुत गर्ने अवसर बनेको छ। ५० वर्षअघि स्थापना भएको नाडाले नेपालमा अटोमोबाइल व्यवसायको विकास, व्यवसायीको हकहित तथा अटो क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निरन्तर आवाज उठाउँदै आएको छ।

‘गोल्डेन जुब्ली’ संस्करण भएकाले यसपटकको शोमा विगतका संस्करणभन्दा बढी आकर्षण सिर्जना गर्ने तयारी गरिएको आयोजकको भनाइ छ। नयाँ ब्रान्डको प्रवेश, नयाँ मोडलको सार्वजनिक तथा उपभोक्ताको बढ्दो इभी आकर्षणका कारण यसपटकको अटो शो अटो बजारका लागि विशेष हुने अपेक्षा गरिएको छ।

१८औँ नाडा अटो शोमा नेपालका प्रमुख अटोमोबाइल ब्रान्डसँगै नयाँ ब्रान्ड र नयाँ प्रविधिका सवारीसाधनलाई समेत प्राथमिकता दिइएको छ। अटो शोमा गाडी तथा मोटरसाइकलसँगै स्पेयर पार्ट्स, टायर, ब्याट्री, चार्जिङ पूर्वाधार, अटो कम्पोनेन्ट तथा अटोमोबाइलसँग सम्बन्धित अन्य उत्पादन तथा सेवाको समेत प्रदर्शनी हुनेछ।

साथै, मुख्य भनेको मेड इन नेपाल प्रोडक्ट पनि यसमा हुनेछ। जुन सिप्रदी यात्रीले तयार पारेको इलेक्ट्रिक स्कुटर हो।

यसपटकको प्रदर्शनीमा विद्युतीय सवारीसाधन (इभी)को उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ। नेपालमा इभीको बजार तीव्र रुपमा विस्तार भइरहेका बेला विभिन्न ब्रान्डले नयाँ मोडल, नयाँ ब्याट्री प्रविधि र नयाँ मूल्य रणनीतिसहित बजारमा प्रतिस्पर्धा गरिरहेका छन्। त्यसको प्रत्यक्ष प्रभाव अटो शोमा पनि देखिनेछ।