काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पर्क कार्यालय खोलेर राष्ट्रिय भेला गर्न लागेको पार्टीको इतर पक्षलाई आफूलाई तर्साउने प्रयास नगर्न चेतावनी दिएका छन्।
उनले आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा आफू कसैले तर्साएर नतर्सिने र दबाएर नदबिने बताए। उनले आफू सबै पक्षलाई जोडेर महाधिवेशन गर्ने पक्षमा रहेको र त्यसका लागि क्रियाशील सदस्यता छानबिन गर्न पनि राजी हुने भन्दै महाधिवेशनको मिति भने एक दिन पनि तलमाथि नहुने प्रष्ट पारे।
‘सबै साथीहरुलाई समेटेर लान तयार छु। सदस्यताका विषयमा शंका छ भने छानबिन गर्न सकिन्छ। तर, तर्साएर चाहिं म तर्सिन्न। दबाएर पनि म दबिन्न। फकाएर पनि फकिन्न। मलाई विधान थाहा छ। विधानको सीमा थाहा छ। सीमाभित्र म बस्नुपर्छ,’ उनले भने, ‘महाधिवेशनको फाइनल डेट एक दिन पनि तलमाथि हुँदैन।’
कांग्रेसले यसअघि नै केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म गर्ने निर्णय गरिसकेको छ। तर, पूर्वसभापति शेरबहादुर देउवा पक्षले सदस्यता अद्यावधिक गर्न नै अस्वीकार गर्दै केही दिनमा राष्ट्रिय भेला गर्न लागेको छ।
गगनले पार्टीको विशेष महाधिवेशन विधानसम्मत, आवश्यक र औचित्यपूर्ण भएको भन्दै यो कुरा अब सर्वोच्च अदालतमा शानका साथ राख्ने बताए।
कांग्रेसको आधिकारिकता विवादमा यसअघि नै गगन नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरिसकेको सर्वोच्चले यस विषयमा देउवा पक्षको माग अनुसार फेरि सुनवाइ गर्दैछ।










