व्यक्तिगत आयकरको छुट सुविधा, अवकाश कोषको ५ लाख र शिक्षाको २५ हजार घटाउन पाइने



मस्त केसी
२०८३ साउन २३ गते २०:२६ | Aug 8, 2026
व्यक्तिगत आयकरको छुट सुविधा, अवकाश कोषको ५ लाख र शिक्षाको २५ हजार घटाउन पाइने


काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ मा व्यक्तिले विभिन्न ११ शीर्षकमा करयोग्य आय घटाउन वा तिर्नुपर्ने करमा छुट तथा मिलानको सुविधा पाउने भएका छन्।

Tata
GBIME

आन्तरिक राजस्व विभागका अनुसार अवकाश योगदान रकम, दुर्गम भत्ता सुविधा, वैदेशिक भत्ता, निवृत्तभरण आय भएको व्यक्तिलगायतले आयकरमा केही प्रतिशत छुटको सुविधा उपयोग गर्न सक्नेछन्।

त्यस्तै अपांगता भएका व्यक्ति, बीमा रकम, आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा प्रिमियम, शिक्षा शुल्कलगायतमा गरिएको खर्च पनि आयमा गणना गर्न नपाउने सुविधा छ। पारिश्रमिक आयमात्रै हुने महिला र औषधि उपचारमा गरेको खर्चको १५ प्रतिशत वा ७५० जुन कम हुन्छ त्यो रकम कर मिलान गर्न सकिने भएको छ।

विभागका अनुसार अवकाश कोषमा योगदान गर्दा ५ लाख रूपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सकिने छ। आम्दानी जति भए पनि अवकाश कोषमा वार्षिक ५ लाखभन्दा बढी करयोग्य आयमा घटाउन पाइने छैन।

त्यसैगरी ५ प्रकारका दुर्गम भत्ता सुविधा लिने व्यक्तिले पनि करयोग्य आय घटाउन पाउने छन्। जस्तो ‘क’ वर्गका दुर्गम क्षेत्रमा काम गर्नेले ५० हजार, ‘ख’ वर्गका क्षेत्रमा ४० हजार रकम करयोग्य आयबाट घटाउन सक्नेछन्। यति रकम घटाएर उनीहरूले बाँकी रकमको आयकर तिरे पुग्नेछ।

‘ग’ वर्गका दुर्गम क्षेत्रमा काम गर्नेले ३० हजार, ‘घ’ वर्गका क्षेत्रमा काम गनेले २० हजार र ‘ङ’ वर्गका आय आर्जन गर्नेले १० हजार रकम करयोग्य आयबाट घटाएर कर तिर्न सक्ने सुविधा पाएका छन्।

नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने सुविधा छ।

निवृत्तभरण आय भएको व्यक्तिले करयोग्य आयबाट छुट पाउने सीमामा २५ प्रतिशत रकम थप घटाउन पाउने व्यवस्था पनि रहेको छ।

त्यसैगरी आय गर्ने व्यक्ति अपांगता भएको रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट छुट पाउने सीमामा थप ५० प्रतिशत थप रकम घटाउन पाउने विभागले जनाएको छ।

लगानी बीमा गरेको व्यक्तिले वार्षिक भुक्तानी गरेको प्रिमियम वा ४० हजार जुन कम हुन्छ त्यो रकम घटाएर आयकर तिरे हुने व्यवस्था छ। त्यसैगरी स्वास्थ्य बीमा गरेको व्यक्तिले वार्षिक प्रिमियम वा २० हजार मध्ये कम भएको रकम घटाएर करयोग्य आम्दानी गणना हुने व्यवस्था पनि छ।

आफ्नो स्वामित्वमा रहेको निजी भवनको प्रिमियम तिरेको रकम पनि कर छुटमा समावेश गराउन सकिने छ। भवनको बीमा भुक्तानी गरेको वार्षिक प्रिमियम वा १० हजारमध्ये कम भएको रकम करयोग्य आम्दानीमा घटाउन सकिने छ।

आफ्ना सन्ततिको लागि तिरेको शिक्षा शुल्क पनि करयोग्य आयबाट घटाउन सकिने छ। शिक्षण शुल्कबापत् भुक्तानी गरेको वार्षिक रकम वा २५ प्रतिशत जुन कम हुन्छ त्यही रकम करयोग्य आयबाट घटाउन पाइने विभागले जनाएको छ।

पारिश्रमिक आयमात्र आर्जन गर्ने महिलाले तिर्नुपर्ने कर रकममा १० प्रतिशत थप छुट पाउने छन्। औषधि उपचार बिलको १५ प्रतिशत वा ७५० रुपैयाँमध्ये कम भएको रकम पनि करयोग्य आयबाट घटाउन पाउने सुविधा छ।

सीए शेषमणि दाहाल योग्य व्यक्तिले सबै प्रकारका आयकर छुटको सुविधा उपभोग गर्न पाउने बताए। उनले भने, ‘अवकाश कोषमा जाने रकम, बीमा गरेको व्यक्तिले बीमा रकम, छोराछोरीको शिक्षण शुल्कलगायत आयकर ऐनले दिएका सबै सुविधा योग्य रहेको एउटै व्यक्तिले उपभोग गर्न सक्छ।’

यसपटक सरकारले गरेको व्यस्थामा नयाँ देखिएको मुख्य कुरा छुटका सुविधा एक व्यक्तिले एकैपटक धेरै शीर्षकमा उपयोग गर्न सक्ने व्यवस्था हो। अवकाश कोष, लगानी तथा स्वास्थ्य बीमा, भवन बीमा, सन्ततिको शिक्षण शुल्कलगायत रकम छुट्टाछुट्टै सीमासम्म करयोग्य आयबाट घटाउन सकिन्छ। यसले योग्य करदाताको करयोग्य आय उल्लेख्य रूपमा घटाउन सक्ने देखिन्छ। एउटै योग्य व्यक्तिले अवकाश कोष, बीमा, शिक्षा शुल्कलगायत उपलब्ध सबै सुविधा एकसाथ उपयोग गर्न सक्ने भएकाले वास्तविक करभार घट्न सक्छ। तर महिलाको १० प्रतिशत सुविधा आयमा होइन, तिर्नुपर्ने कर रकममै लागू हुन्छ।