महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयमा संचालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर



बिजमाण्डू
२०८३ साउन २२ गते १४:१३ | Aug 7, 2026
महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयमा संचालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर


काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीका लागि शिशु स्याहार कक्ष तथा डे-केयर सेवा संचालनमा ल्याएको छ।

Tata
GBIME

विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १-७) को अवसर पारेर बैंकले दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा उक्त सेवा सुरु गरेको हो।

बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष स्थापना गरिएको हो। यसबाट महिला कर्मचारीले कार्य जिम्मेवारी र मातृत्वबीच सन्तुलन कायम गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ।

बिहीबार आयोजित कार्यक्रममा महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमका अध्यक्षले शिशु स्याहार कक्षको उद्घाटन गरेका थिए। कार्यक्रममा बैंकले कर्मचारीमैत्री तथा परिवारमैत्री कार्यसंस्कृति निर्माणमा आफू प्रतिबद्ध रहेको दोहोर्‍याएको थियो।

बैंकको ३२औँ वार्षिक उत्सवको अवसरमा गठन गरिएको महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमले महिला कर्मचारीको नेतृत्व क्षमता विकास, पेशागत दक्षता अभिवृद्धि, आत्मविश्वास वृद्धि र संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ। फोरमले कार्यस्थलमा समान अवसर, समावेशी वातावरण र महिला सशक्तीकरणलाई प्रवर्धन गर्ने अभियानलाई पनि निरन्तर अघि बढाइरहेको बैंकले जनाएको छ।

बैंकले समावेशिता र लैंगिक समानतालाई संस्थागत प्राथमिकताका रूपमा अघि बढाउँदै आएको जनाएको छ। मातृत्वप्रतिको सम्मान, कार्य-जीवन सन्तुलन र कर्मचारी कल्याणलाई दीर्घकालीन नीतिको हिस्सा बनाउँदै बैंकले यस्तो पहललाई निरन्तरता दिएको उल्लेख गरेको छ।

उक्त अवसरमा बैंकले अन्य संस्थालाई पनि मातृत्वमैत्री कार्यस्थल निर्माणतर्फ अग्रसर हुन आग्रह गरेको छ। कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति आफू सदैव प्रतिबद्ध रहने विश्वास समेत बैंकले व्यक्त गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि संचालनमा ल्याएको छ।