काठमाडौं। माछापुच्छ्रे बैंकले सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई योगदान पुर्याउने उद्देश्यका साथ नयाँ सुविधा ल्याएको छ।
बैंकले एमबीएल एम-स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौँ (आइआरडी)’ सुविधा संचालनमा ल्याएको जनाएको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन गरेको छ। यस कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताहरूले नियमित लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एपमार्फत बैंक वा वालेटको मर्चेन्ट क्यूआरमा डिजिटल भुक्तानी गर्ने ग्राहक स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता पर्दैन।
माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमबीएल एम-स्मार्ट एपमा लगइन गरी ‘बिल जितौँ (आइआरडी)’ मेनुमा प्रवेश गरेपछि आइआरडी उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारहरूको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारहरूबाट नियमित रूपमा लक्की ड्र संचालन गर्दै प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात १ लाख रुपैयाँ दिने व्यवस्था गरेको छ। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।
बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम-स्मार्टको ‘बिल जितौँ (आइआरडी)’ मेनु मार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न अपिल गरेको छ।
माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित तथा ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।









