नाइमा र नाडा अटो शो: ब्राण्ड, स्पेश र थिम एउटै, ‘दुई वटा आवश्यक छैन’



शुक्र गिरी
२०८३ साउन २४ गते ११:१९ | Aug 9, 2026
नाइमा र नाडा अटो शो: ब्राण्ड, स्पेश र थिम एउटै, ‘दुई वटा आवश्यक छैन’


काठमाडौं। नेपालमा अहिले नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पो गरी वर्षमा दुईवटा सवारी मेला आयोजना भइरहेका छन्। नाइमाको मेला आगामी मंगलबार हुँदैछ भने नाडाको मेला भदौ दोस्रो साता हुने तय भएको छ।

Tata
GBIME

तर, अधिकांश मार्केट लिडर बनेका मेजर ब्रान्ड दुवै प्रदर्शनीमा सहभागी हुन थालेपछि दुईवटा अटो शोको आवश्यकता र औचित्यमाथि व्यवसायीहरूबीच आन्तरिक रुपमा बहस सुरु भएको छ।

टाटाको सिप्रदी ट्रेडिङ, एमजीको पारामाउन्ट मोटर्स, चेरीको एसपीजी अटोमोबाइल्स, बीवाइडीको साइमेक्स इंक, ग्रेट वाल मोटर्स, प्रोटोन, लिपमोटर र रोयल इन्फिल्डको अल्फा अटोमोटिभ्सहरू अहिले दुवै अटो शोमा सहभागी छन्। अहिले बजारमा यही ब्रान्डहरूले आफ्नो हिस्सा बढाइरहेका छन्।

व्यवसायीहरूका अनुसार अहिले दुईवटा अटो शो हुनुको मुख्य कारण प्रतिस्पर्धा होइन, प्रदर्शनीस्थलको सीमित क्षमता, भनेको जस्तो स्टल नपाउनु र केही व्यवसायीबीच लफडा पर्दा त्यसको इगोमा विकल्प खोजिएको मात्रै हो।

केहीले एउटै प्रदर्शनीमा सबै ब्रान्डलाई पर्याप्त स्थान उपलब्ध गराउन नसकिएकाले धेरै कम्पनी दुवैतिर सहभागी हुन बाध्य भएको बताएका छन् भने केहीले आफुहरू बिजनेसमा मात्रै ध्यान केन्द्रित भएकाले दुवैतिर सहभागि जनाएको बताइरहेका छन्।

दुवैतिर अटो शोमा भाग लिएका एक व्यवसायी भन्छन्, ‘हामीलाई कुन संस्थाले के गरिरहेको छ त्यसले धेरै फरक पार्दैन। तर, हाम्रो बिजनेस कसरी बढाउने भन्ने कुराले फरक पार्छ। त्यसैले हामी दुईवटै अटो शोमा छौं। एउटै भइदिएको भए खर्च कम हुने थियो। ग्राहकहरू आउने ९० प्रतिशत एउटै हुन्।’

नाइमाका संस्थापक तथा अटो व्यवसायी आकाश गोल्छाले बिजमाण्डुसँग भने, ‘दुईवटा अटो शो चाहिएको होइन। अहिले दुईवटा गर्दा पनि सबैलाई स्पेस दिन सकिएको छैन। एउटा प्रदर्शनीमा पर्याप्त ठाउँ भएको भए अहिलेको जस्तो अवस्था आउने थिएन।’

गोल्छाका अनुसार एउटै कम्पनीले दुवै अटो शोमा सहभागी हुँदा अपेक्षित व्यापार भने हुँदैन।

‘साँच्चै गाडी किन्ने ग्राहकको करिब ९० प्रतिशत दुवैतिर ओभरल्याप हुन्छ। त्यसैले दुवै अटो शोमा सहभागी हुँदैमा व्यापार दोब्बर हुँदैन,’ उनले भने।

गोल्छा अहिले धेरै कम्पनी दुवै अटो शोमा सहभागी हुनुको मुख्य कारण स्टलको उपलब्धता र व्यापारिक रणनीति भएको दाबी गर्छन्।

‘नाइमामा ठूलो र राम्रो स्टल पाएको भए केही कम्पनी नाडामा जाँदैनथे। त्यस्तै, नाडामा पर्याप्त ठाउँ भएको भएपनि अर्को प्रदर्शनीमा जानुपर्ने बाध्यता हुँदैनथ्यो,’ उनले भने।

गोल्छाका अनुसार टाटा र बीवाइडीजस्ता ठूला ब्रान्डसँग दुवै प्रदर्शनीमा सहभागी हुने बजेट भएकाले उनीहरू दुवैतिर देखिएका हुन्।

‘बजेट सीमित भएका कम्पनी भने एउटै अटो शोमा मात्र सीमित हुने अवस्था छ,’ उनले थपे।

भविष्यमा एउटै संयुक्त अटो शो आयोजना गर्ने सम्भावना रहेको पनि गोल्छाको भनाइ छ।

‘दुवै संस्थाका अध्यक्ष र सरोकारवालाबीच सहमति भयो भने कार र बाइकको एउटै अटो शो गर्न सकिन्छ। कमर्सियल सवारी र स्पेयर पार्ट्सका लागि छुट्टै प्रदर्शनी आयोजना गर्न सकिन्छ,’ उनले भने।

गोल्छाका अनुसार नाइमा गठन हुनुअघि पनि संयुक्त रुपमा अटो शो आयोजना गर्ने विषयमा छलफल भएको थियो।

‘त्यतिबेला नाडाले संयुक्त रुपमा अघि बढ्न मानेन। त्यसपछि नाइमाले छुट्टै प्रदर्शनी आयोजना गर्ने निर्णय गर्‍यो,’ उनले भने।

गोल्छाका अनुसार अन्ततः सबै अटो व्यवसायीको पहिलो प्राथमिकता व्यापार नै हो।

‘व्यवसाय गर्न सहज हुने संरचना बने एउटै अटो शो उद्योगका लागि अझ प्रभावकारी हुन सक्छ,’ उनले भने।

यस्तै, नाडाका अध्यक्ष सुरेशकुमार उप्रेती पनि दुईवटा अटो शोको कुनै औचित्य नरहेको बताउँछन्।

‘हामी सवारीसाधनको इकोसिस्टममा काम गर्ने व्यवसायी हौं। अटो शो गर्नका लागि मात्रै छुट्टै संस्था बनाएर बस्नुपर्ने अवस्था होइन। अटो शोलाई दुईवटा बनाउनु जरुरी छैन,’ उनले भने, ‘संस्था अटो शोका लागि मात्रै जन्मिने होइन। बजारमा व्यवसायको उपस्थिति बलियो बनाउने, उद्योगको विकास गर्ने र व्यवसायीको हितमा काम गर्ने उद्देश्य एउटै हो। अन्ततः सबैको उद्देश्य व्यापार नै हो।’

उप्रेतीका अनुसार नाडाले अटो शोभन्दा पनि उद्योग, रोजगारी, बिक्रीपछिको सेवा, नवप्रवर्तन र ‘मेड इन नेपाल’ अभियानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

‘व्यवसायीको दायित्व अटो शो आयोजना गर्नु मात्रै होइन। नयाँ प्रविधि, उद्योगको विकास, रोजगारी सिर्जना र नेपाली उत्पादनको प्रवर्धनमा पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भने।

उप्रेतीले अटो व्यवसायीहरू एउटै समुदाय भएकाले विभाजित भएर काम गर्नुको खास अर्थ नरहेको बताए।

‘दुईवटा संस्था बनाएर काम गर्नुको कुनै औचित्य छैन। दुवैतिर उही व्यवसायी छन्। यसपालि पनि एउटै अटो शो गरौं भनेर मैले अनुरोध गरेको थिएँ। भविष्यमा एउटै अटो शो हुन सके उद्योगकै हितमा हुन्छ,’ उनले भने।

उनका अनुसार नाडा र नाइमा दुवैले अटोमोबाइल इकोसिस्टम र व्यवसायीको हितकै लागि काम गर्ने भएकाले दीर्घकालमा एउटै संस्थामार्फत अघि बढ्नु उपयुक्त हुन्छ।