विराटनगर। कोशी प्रदेशका चार व्यावसायिक संस्थाले औद्योगिक घराना देवेनरा मुन्दडा समूहको घर तथा कार्यालयमा प्रहरीले गरेको सर्च अपरेसनमा आपत्ति जनाएका छन्।
एफएनसीसीआई कोशी, सीएनआई कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरीले सडक घेराबन्दी गरी करिब ५ घण्टा लगाएर गरेको छापाप्रति आपत्ति प्रकट गरेका हुन्।
विज्ञप्तिमा अपुष्ट सूचनाका भरमा उद्योगी-व्यवसायीलाई आतंकित पार्ने शैलीमा बिहान ४ः३० बजेदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित बनाएको उल्लेख छ।
‘कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयन गर्दा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता तथा प्राकृतिक न्यायका सिद्धान्तलाई समेत समान रूपमा ध्यान दिनु आवश्यक हुन्छ’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेका अवस्थामा हतोत्साहित हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहारबिच तादात्म्य नभएको बताइएको छ।
चारै संस्थाले प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको उक्त छापामा प्रहरीकै प्रेस विज्ञप्ति अनुसार कुनै किसिमको गैरकानुनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको बताएका छन्।
‘यस प्रकारका गतिविधिले सरकार र निजी क्षेत्रबिच अविश्वास बढ्ने र आर्थिक गतिविधि विस्तार गर्ने सरकारकै उद्देश्यमा समेत प्रतिकूल प्रभाव पार्नेछ’ व्यवसायीको भनाइ छ।
विज्ञप्तिमा छापा तथा अनुसन्धानात्मक कारबाही अघि प्रयोग गरिने सूचना संयन्त्रको विश्वसनीयता र प्रामाणिकतामाथि गम्भीर पुनरवलोकन गर्न आग्रह गरिएको छ।
यस्ता क्रियाकलापले राष्ट्रको अर्थतन्त्रमा दूरगामी असर पर्ने उनीहरूको जिकिर छ।
‘उद्योग–वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो। त्यसैले यस क्षेत्रलाई शंकाको दृष्टिले होइन, सहकार्य, पारदर्शिता, कानुनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढाउने नीति अवलम्बन गर्नुपर्छ’, व्यवसायीको आग्रह छ।
विज्ञप्तिमा एफएनसीसीआई कोशीका अध्यक्ष राजेन्द्र राउत, सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको हस्ताक्षर छ।









