नबिल बैंकले सञ्चालनमा ल्यायो ‘एजुकेसन हब’, विदेशमा जान चाहने विद्यार्थीले पाउँछन् यस्तो सेवा



बिजमाण्डू
२०८३ साउन १८ गते १९:४७ | Aug 3, 2026
नबिल बैंकले सञ्चालनमा ल्यायो  ‘एजुकेसन हब’, विदेशमा जान चाहने विद्यार्थीले पाउँछन् यस्तो सेवा


काठमाडौं। नबिल बैंकले काठमाडौंको पुतलीसडकमा ‘एजुकेसन हब’ सञ्चालनमा ल्याएको छ।

Tata
GBIME

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई लक्षित गरी बैंकले एजुकेसन हब सञ्चालनमा ल्याएको हो।

‘नबिल बैंक एजुकेसन हब’को सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्‍घाटन गरेका छन्।

बैंकका अध्यक्ष चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन तथा बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब सञ्चालनमा ल्याएको बताए।

‘शिक्षामा गरिने लगानी एक व्यक्तिमा मात्रै नभइ समग्र परिवार, समाज र राष्ट्रको भविष्य निर्माणका लागि हो, मुलुकको शिक्षालाई थप सुदृढ बनाउनुका साथै भावी पुस्तालाई सशक्त बनाउने उद्देश्यले हबको स्थापना गरिएको हो,’ उनले भने, ‘देशैभरका शाखामा कम्तीमा एजुकेसन हबको एउटा काउन्टरको व्यवस्था गरेर यस पहललाई विस्तार गरिने छ।’

बैंकका सीइओ ज्ञवालीले बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा पहिलो पटक उपलब्ध हुन लागेको बताए।

‘अन्तर्राष्ट्रिय शिक्षातर्फ बढ्दो आकर्षणसँगै विद्यार्थीको आवश्यकता वित्तीय सहायता मात्रमा सीमित नरहेको सन्दर्भमा यस हबले शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना तथा आवश्यक बैंकिङ मार्गदर्शनलाई एकीकृत रूपमा उपलब्ध गराउनेछ,’ उनले भने, ‘विदेशमा अध्ययन गर्न चाहनेहरूका लागि यो केन्द्रले वान स्टप सोलुसनका रुपमा काम गर्नेछ।’

विदेशमा अध्ययनको योजना बनाउने प्रारम्भिक चरणदेखि भर्ना प्रक्रिया, कर्जा व्यवस्थापन, विदेशी मुद्रा सेवा, अध्ययन सम्पन्न गर्नेसम्म तथा त्यसपछिको कर्जा भुक्तानी व्यवस्थापनसम्म आवश्यक पर्ने बैंकिङ सहायतालाई एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यसहित एजुकेकसन हब सञ्चालनमा ल्याएको बैंकले बताएको छ।