शिलान्यास शिलालेख नियतवश हटाइएको भन्दै एमाले चन्द्रागिरिको आपत्ति, ‘इतिहास मेट्ने दुष्प्रयास’



बिजमाण्डू
२०८३ साउन ११ गते ०७:४९ | Jul 27, 2026
शिलान्यास शिलालेख नियतवश हटाइएको भन्दै एमाले चन्द्रागिरिको आपत्ति, ‘इतिहास मेट्ने दुष्प्रयास’


काठमाडौं। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका बेला २०७९ कात्तिक ४ गते राखिएको शिलान्यास शिलालेख नियतवश हटाइएको भन्दै एमालेको चन्द्रागिरि नगर कमिटीले आपत्ति जनाएको छ।

Tata
GBIME

नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले विज्ञप्ति जारी गर्दै नगर कमिटीले नेपाललाई आधुनिक सुरुङ युगमा प्रवेश गराउने उद्देश्यका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको शिलान्यास गरेको स्मरण गराएको छ। एमाले नेतृत्वको तत्कालीन सरकारले अघि बढाएको योजनाअन्तर्गत निर्माण भएको सुरुङमार्गले राजधानी आवतजावत गर्ने यात्रुलाई सहजता प्रदान गरेको र आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।

निर्माण कम्पनीले भवन बनाउन शिलान्यासको शिलालेख झिकेको आयोजनाका अधिकारीहरुले जनाएका छन्। निर्माण थालेको ८० महिनामा तयार सुरुङमार्ग आज उद्घाटनको कार्यक्रम छ।

एमाले नगर कमिटीले सुरुङमार्गलाई राष्ट्र निर्माण र विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा व्याख्या गर्दै यसले नेपालको यातायात क्षेत्रलाई अग्रगामी छलाङतर्फ डोर्‍याउने विश्वास व्यक्त गरेको छ।

विज्ञप्तिमा सुरुङमार्ग शिलान्यासका क्रममा राखिएको शिलालेख हटाइनुलाई इतिहास मेट्ने प्रयासको संज्ञा दिँदै यस्तो कार्य कुनै पनि बहानामा स्वीकार्य नहुने जनाएको छ। योजनाको अवधारणा, निर्माण र कार्यान्वयनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको योगदानको सम्मान हुनुपर्ने एमालेको धारणा छ।

साथै, सुरुङमार्ग निर्माणबाट प्रभावित स्थानीय बासिन्दाका आवश्यकताको सम्बोधन, सरकारको दायित्वअनुसार खानेपानीको व्यवस्था, चर्किएका घरको क्षतिपूर्ति तथा स्थानीयलाई रोजगारी सुनिश्चित गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।