देशकै पहिलो सुरुङमार्ग सवारीसाधन गुडाउन तयार, आधा घण्टाको बाटो अब ४ मिनेटमै



शुक्र गिरी
२०८३ साउन १० गते २१:२५ | Jul 26, 2026
देशकै पहिलो सुरुङमार्ग सवारीसाधन गुडाउन तयार, आधा घण्टाको बाटो अब ४ मिनेटमै


काठमाडौं। सम्झनुहोस् त चितवन, पोखरा वा अन्य जिल्लाबाट काठमाडौं आउँदा नागढुंगाको उकालोमा घण्टौंसम्म जाममा बस्नुपरेका ती दिन।

Tata
GBIME

जामकै कारण महत्वपूर्ण बैठक छुटेको, फ्लाइट नै गुमाएको, उपचारका लागि समयमै अस्पताल पुग्न नसकेको। यो नाका भएर ओहोरदोहोर गर्ने चालकदेखि यात्रुसँग यस्ता सम्झना धेरै छन्।

उकालोमा लामो समय गाडी रोकिंदा इन्धन अनावश्यक खर्च, सवारीसाधनमा बढ्दो दबाब र चालकले भोग्नुपरेको हैरानी पनि धेरैको स्मृतिमा ताजै छ।

अब ती समस्याको समाधानका लागि सुरुङमार्ग तयार भएको छ। सुरुङमार्ग हुँदै नागढुंगा-सिस्नेखोला खण्ड केवल करिब ४ मिनेटमै पार गर्न सकिने भएको छ। नागढुंगा क्षेत्रको यात्रा अब छिटोका साथै सहज हुनेछ।

default

सबैका लागि लामो समयदेखि प्रतीक्षाको विषय बनेको देशकै पहिलो सुरुङमार्ग सोमबारदेखि औपचारिक रुपमा संचालन गर्न लागिएको छ। सुरुङमार्ग बिहान साढे १० बजे उद्‍घाटन गर्ने तय भएको छ।

उद्‍घाटन समारोहमा सुरुङमार्ग बनाउन ऋण उपलब्ध गराएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)का अध्यक्ष तानाका अकिहिको पनि सहभागी हुने भएका छन्। समारोहमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत माएदा तोरु लगायतको उपस्थिति रहनेछ।

जाइकाले सुरुङमार्ग सोमबार सरकारलाई हस्तान्तरण गर्नेछ। सुरुङमार्गमा पहिलो चरणमा परीक्षणका रुपमा अत्यावश्यक सवारीसाधन संचालन गर्ने तयारी छ। परीक्षण सकिएपछि सबैका लागि खुला गर्ने सुरुङमार्ग आयोजनाले बताएको छ।

सुरुङभित्र सुरक्षा, व्यवस्थित यातायात र आपतकालीन व्यवस्थापनका लागि विभिन्न अत्याधुनिक प्रविधि जडान गरिएको छ।

अत्याधुनिक कन्ट्रोल रुम र सीसी क्यामेरा राखिएका छन्। सुरुङभित्र र बाहिरका गतिविधि निगरानी गर्न पीटीजेड र फिक्सड क्यामेरा जडान गरिएका छन्, जसमार्फत सवारीसाधनको गति र लेन अनुशासन अनुगमन निगरानी गरिन्छ।

सुरुङमार्गमा ४० देखि ५० किलोमिटर प्रति घण्टाको गतिमा मात्रै सवारीसाधन चलाउन पाइन्छ।

२.६८८ किलोमिटर लामो सुरुङमार्गको निर्माण २०७६ मा थालिएकामा ७ वर्षमा सम्पन्न भएको हो। सुरुङमार्गसम्म पुग्न बलम्बुको फ्लाइओभरदेखि पहुँच सडक बनाइएको छ। फ्लाइओभर पनि नेपालको पहिलो हो।

सुरुङमार्गमा के-के छन्?

सुरुङमार्गका प्रमुख इन्जिनियर सागर न्यौपानेले सुरुङ बाहिर पानी राख्न र निकाल्न सकिने आउटसाइड हाइड्रेन्ट सिस्टम राखिएको छ। जुन भेन्टिलेसन र फायर फाइटिङ सिस्टमसँग जोडिएको छ।

सुरुङभित्र पानी सकिएको अवस्थामा बाहिर रहेका दुईवटा पोर्ट वा दमकल प्रणालीमार्फत पानी हाल्न सकिन्छ। सुरुङभित्र पानी आपूर्तिका लागि दुईवटा मुख्य ट्याङ्क (मेन ट्याङ्क र इनटेक ट्याङ्क) छन्। हाइड्रेन्ट सुरुङको पूर्व र पश्चिम पोर्टलका दुवै साइडमा एक-एक वटा रहेको न्यौपानेले बताए।

न्यौपानेका अनुसार सुरुङको बाहिर र भित्र २५ वाटका लाउडस्पिकर जडान गरिएको छ। कन्ट्रोल रुमबाट कुनै पनि आपतकालीन वा मर्मत सम्भारको सूचना दिनुपरेमा लाउडस्पिकरको माध्यमबाट गाडी चालक तथा भित्र काम गर्ने सुरक्षा टोली, एम्बुलेन्स र रेस्क्यु टोलीलाई तत्काल जानकारी गराइन्छ। गाडीले लेन मिचेमा वा गाडी गलत ट्र्याकमा रहेमा साइकल/साउन्डमार्फत चालकलाई सचेत गराइन्छ।

सुरुङभित्र आगलागी भएको अवस्थामा तत्काल नियन्त्रण गर्न १ हजार लिटर क्षमताको फायर फाइटिङ प्रणाली राखिएको छ जुन पूर्वी पोर्टलमा छ। सुरुङमा ५० मिटरको दूरीमा ५५ वटा फायर डिटेक्टर र फायर हाइड्रेन्ट जडान गरिएको छ।

आगलागी भएको खण्डमा पुस बटन थिचेर वा ३० मिटरको होज पाइपमार्फत तत्काल पानी छर्किएर आगो नियन्त्रणमा लिन सकिने इन्जिनियर न्यौपानेले बताए। यसमा साधारण मानिसले पनि प्रयोग गर्न सक्ने गरी फायर एक्सटिङ्ग्विसरको समेत व्यवस्था गरिएको छ।

सुरुङभित्र कुनै दुर्घटना भएको अवस्थामा क्षतिग्रस्त वा बिग्रिएका सवारी साधन बाहिर निकाल्नका लागि टवाइङ र रेस्क्यु भेहिकल, एम्बुलेन्स र रेस्क्यु गाडीको व्यवस्था गरिएको छ।

सुरुङभित्र जेट फ्यान र अन्य सुरक्षा मापदण्डका कारण बाहिरभन्दा फरक अवस्था हुने हुँदा एक लेन खाली गराएर यी विशेष गाडी प्रयोग गरिन्छ। जाम भएको खण्डमा इभाकुएसन टनेल र क्रस प्यासेजमार्फत उद्धार टोली घटनास्थलमा पुग्छ।

न्यौपानेका अनुसार कन्ट्रोल रुम र सुरक्षा, रेस्क्यु तथा फायर फाइटिङ टोलीबीच दुईतर्फी संचारका लागि डेडिकेटेड फ्रिक्वेन्सीसहितको ह्यान्डसेट जोड्न सकिने बक्स राखिएको छ।

सुरुङको इभाकुएसन डोर र इमर्जेन्सी पार्किङ क्षेत्रमा पीटीजेट र फिक्स गरी दुई किसिमका सीसी क्यामेरा जडान गरिएका छन् जसले भित्रका सबै गतिविधिको रेकर्ड राख्छन्।

चालक तथा यात्रुलाई सूचना दिन माइक्रोफोन बक्स राखिएको छ जसबाट स्पिकरमार्फत भोइस कमान्ड गर्न सकिन्छ। इमर्जेन्सी पार्किङ एरियामा इएल इन्फरमेसन बोर्ड राखिएको छ जसले सुरुङभित्रको अवस्था (जस्तै: आगलागी, मर्मत सम्भार आदि) बारे चालकलाई जानकारी दिन्छ।

सुरुङभित्र २८० देखि ३६ वाटसम्मका इमर्जेन्सी, बेसिक र डिमिङ लाइट छन् जुन लुमिनियस मिटरद्वारा कन्ट्रोल हुन्छ।

पैसा तिर्न टोल बुथ

सुरुङमार्गमा सवारीसाधन चलाउन शुल्क तिर्नुपर्छ। सरकारले सवारीसाधनको वर्गीकरण गरेर ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क तोकेको छ। टोल बुथलाई आधुनिक र डिजिटल बनाइएको छ। जसका लागि कार्ड लिनुपर्ने हुन्छ।

यस प्रणाली अन्तर्गत दुवैतर्फका लेनमा अटोमेटिक क्लासिफिकेसन र एन-ट्याग प्रविधिद्वारा सवारी साधनको वर्गीकरण गरी टोल शुल्क संकलन गरिनेछ।

टोल कलेक्सन युनिट प्रमुख अभिमन्युले नेपालकै पहिलो सुरुङलाई व्यवस्थित रुपमा संचालन गर्न आफूहरु तयार रहेको बताए।

नेपालकै पहिलो स्वचालित टोल प्लाजा

सुरुङ मार्गको दुबैपट्टि भागमा नेपालकै पहिलो आधुनिक टोल प्लाजा निर्माण गरिएको छ। अभिमन्युका अनुसार, टोल बुथमा पहिले गाडीको वजन र प्रकार पत्ता लगाउन वे-इन-मोसन र अटोमेटिक भेहिकल क्लासिफिकेसन सिस्टम जडान गरिएको छ। ओभरलोड भएका गाडीलाई सुरुङभित्र छिर्न निषेध गरिनेछ।

टोल बुथमा पैसा तिर्नका लागि दुईवटा विकल्प हुनेछन्। जसमा एउटा अटोमेटिक एन-ट्याग हुनेछ। जसमा सवारीसाधनको विन्ड स्क्रिनमा टाँसिएको ट्यागबाट पैसा काटिनेछ, जसका लागि ३ देखि ४ सेकेन्ड लाग्नेछ।

नगद भुक्तानीका लागि १.५ देखि २ मिनेटसम्म लाग्न सक्छ।