काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले शुक्रबार सात बुँदे सर्कुलर जारी गर्दै एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न भनेका हुन्।
‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्णरूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ,’ सर्कुलरमा भनिएको छ।
सांसदहरुले अधिकृतको आधारभूत तलब सरहको सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने निर्णय सरकारले एक साताअघि गरेको थियो।
रास्वपाले स्वकीय सचिवमा नियुक्त गरिने व्यक्ति न्यूनतम शैक्षिक योग्यता संघीय संसद् सचिवालयले तोके अनुसार स्नातक तह अनिवार्य रूपमा हासिल गरेको हुनुपर्ने भन्दै सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य-मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिन भनेको छ।
स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गरी नियुक्तिका लागि पार्टीको संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिन पनि भनिएको छ।
रास्वपाले सांसदहरुलाई नातेदार नियुक्त गरेको र कागजी रूपमा मात्र स्वकीय सचिव खडा गरी सुविधा लिएको पाइएमा पार्टीको केन्द्रीय अनुशासन समिति मार्फत् कारबाही गर्ने चेतावनी समेत दिएको छ।












