म्याक्ससको इभी पिकअप ‘इ-टेरोन नाइन कम्फर्ट’ बजारमा, ५० जनालाई ८८ लाखको विशेष मूल्य

बिजमाण्डू
२०८३ साउन ७ गते १२:४७ | Jul 23, 2026
म्याक्ससको इभी पिकअप ‘इ-टेरोन नाइन कम्फर्ट’ बजारमा, ५० जनालाई ८८ लाखको विशेष मूल्य


काठमाडौं। म्याक्ससको विद्युतीय फोर-ह्विल ड्राइभ पिकअप ‘इ-टेरोन ९ कम्फर्ट’ नेपाली बजारमा आएको छ। हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रालिले एसएआईसी समूहको म्याक्सस इ-टेरोन ९ कम्फर्ट बिहीबार काठमाडौंमा सार्वजनिक गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीले पहिलो बुकिङमा ५० जना ग्राहकका लागि ८८ लाख रुपैयाँको विशेष मूल्य घोषणा गरेको छ। दैनिक प्रयोग, लामो दूरीको यात्रा, अफरोड एड्भेन्चर तथा व्यावसायिक प्रयोजनलाई लक्षित गरी ल्याइएको यो विद्युतीय पिकअपमा १०२.२ किलोवाट-आवर क्षमताको ब्याट्री जडान गरिएको छ। 

कम्पनीका अनुसार यो हाल नेपालमा आयात हुने सवारीसाधनमध्ये सबैभन्दा ठूलो क्षमताको ब्याट्री प्याक हो।

पूर्ण चार्जमा यसले एनइडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। साथै, ११५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सुविधा भएकाले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४२ मिनेटमै चार्ज गर्न सकिन्छ।

गाडीमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा विद्युतीय मोटर जडान गरिएको छ। यसले ७०० न्युटन-मिटर टर्क उत्पादन गर्छ भने ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै लिन सक्छ। यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।

कम्पनीका अनुसार यस पिकअपमा २६० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, शक्तिशाली फोर-ह्विल ड्राइभ प्रणाली, लामो रेन्ज, उच्च हिमाली तथा पहाडी सडक, हिलो सडक र दुर्गम क्षेत्रमा सहज सञ्चालन हुने फिचर समावेश गरिएको छ। 

साथै, उच्च स्तरको सुरक्षा र आरामदायी सुविधासमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

हिमालय मोट्रक्सले यो विद्युतीय पिकअप व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका ग्राहकलाई लक्षित गर्दै नेपाली बजारमा ल्याएको जनाएको छ।