काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले व्यवसायीहरुलाई हस्तकला सामग्रीको निर्यातमा ५ प्रतिशत नगद अनुदान उपलब्ध गराउने आश्वासन दिएका छन्।
हस्तकला व्यवसायीहरुसँग बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा बालेनले निर्यात अनुदान उपलब्ध गराउने आश्वासन दिएका हुन्।
छलफलमा व्यवसायीहरुले तीन वर्षदेखि नगद अनुदान नपाएको गुनासो गरेका थिए। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले गत असोजमा निर्यात अनुदान नै खारेज गरेका थिए।
बालेन व्यवसायीको माग अनुसार हस्तकला विकास बोर्ड गठन गर्न सकारात्मक देखिएका छन्। व्यवसायीहरुले निजी सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा बोर्ड गठन गर्न माग गरेका थिए।
बालेनले हस्तकला सामग्री अहिलेसम्म स्वघोषणामा निर्यात भइरहेकोमा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धि हुने व्यवसायीको सुझाव अनुसार काम गर्ने पनि बताए।
उनले उद्योग विभागमा निर्मित सार्क हस्तकला विकास केन्द्रको भवन नेपाल हस्तकला व्यवसायी महासंघलाई उपलब्ध गराउने आश्वासन समेत दिए। त्यो भवनमा हाल कम्पनी रजिस्ट्रारको कार्यालय छ।
बालेनले हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकला पुस्तान्तरणमा सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताएको उनको सचिवालयले जनाएको छ।
व्यवसायीहरुले सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको महसुस भएको भन्दै व्यवसाय विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न तयार रहेको बताएका थिए।
उनीहरुले हस्तकला दिवस राष्ट्रियस्तरमा मनाउन माग गरे। महासंघले अहिलेसम्म मंसिर २८ मा हस्तकला दिवस मनाउँदै आएको छ। प्रधानमन्त्री बालेनले यस विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन्।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न धाख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।










