विद्युत झ्यापझ्याप जाने समस्या नरोकिएपछि प्राधिकरणका प्रदेश प्रमुखसँग दीर्घायुको बैठक, के भने?



बिजमाण्डू
२०८३ साउन ५ गते १३:२१ | Jul 21, 2026
विद्युत झ्यापझ्याप जाने समस्या नरोकिएपछि प्राधिकरणका प्रदेश प्रमुखसँग दीर्घायुको बैठक, के भने?


काठमाडौं। विद्युत झ्यापझ्याप जाने समस्या नरोकिएपछि नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख र दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखसँग बैठक गरेका छन्।

Tata
GBIME

उनले देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्दै ग्राहक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

वर्षाका कारण विद्युत् प्रणालीमा पर्न सक्ने प्रभावको विस्तृत समीक्षापछि श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन निर्देशन दिएको प्राधिकरणले जनाएको छ।

श्रेष्ठले वर्षायाममा कुनै पनि अवस्थामा नियमित र गुणस्तरीय विद्युत् आपूर्तिमा असर पर्न नदिनका लागि उच्च सतर्कताका साथ काम गर्न भनेका छन्। उनले विपद्का कारण विद्युत् पूर्वाधारमा पर्न सक्ने जोखिमलाई ख्याल गरी आवश्यक जनशक्ति, उपकरण तथा मर्मत सामग्री चौबिसै घण्टा तयारी अवस्थामा राख्न र समस्या उत्पन्न हुनासाथ तत्काल परिचालन गर्न निर्देशन दिए।

श्रेष्ठले सेवाग्राहीबाट प्राप्त हुने गुनासोको सक्दो छिटो सुनुवाइ गर्न तथा आकस्मिक मर्मतका कारण विद्युत् आपूर्ति प्रभावित हुने अवस्थामा सकेसम्म पूर्वसूचना उपलब्ध गराउन भनेका छन्।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गरिने तथा सेवाप्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई प्रचलित नियमबमोजिम कारबाही गरिने बताए।

उनले प्रदेश कार्यालयहरूलाई परिणाममुखी कार्यसम्पादन, अनुशासित सेवा संस्कृतिको विकास तथा ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे।