कर्म हस्पिटालिटीले महाराजगंजमा बनाउने होटल १६८ कोठाको, ईआईए प्रतिवेदन वन मन्त्रालयमा



बिजमाण्डू
२०८३ साउन ५ गते १२:३३ | Jul 21, 2026
कर्म हस्पिटालिटीले महाराजगंजमा बनाउने होटल १६८ कोठाको, ईआईए प्रतिवेदन वन मन्त्रालयमा


काठमाडौं। महाराजगंजमा साढे ३ अर्ब रुपैयाँ लगानीमा २१६ शय्याको अत्याधुनिक होटल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन(ईआईए) प्रतिवेदन तयार पारिएको छ।

Tata
GBIME

कर्म हस्पिटालिटी प्रालिले होटल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन(ईआईए) प्रतिवेदन तयार गरी स्वीकृतिका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पेस गरेको छ।

प्रतिवेदनअनुसार होटल करिब साढे ६ रोपनी जग्गामा निर्माण हुनेछ। ५८ मिटर उचाइको होटलमा १६८ वटा कोठा रहनेछन्।

तीमध्ये ९ वटा स्विट रुम हुनेछन्। प्रतिवेदन अनुसार ६०० जना अट्ने बैंक्वेट हल र ३० जना क्षमताको मिटिङ हल पनि निर्माण गरिनेछ।

होटलमा स्वीमिङ पुल, स्पा, हेल्थ क्लब, क्यासिनो, रेष्टुरेन्ट, बार, ट्राभल डेस्क, लिफ्ट, सीसीटीभी, अग्नि सुरक्षा प्रणालीलगायत सुविधा रहनेछन्।

१३७ वटा चार पाङ्ग्रे र १२० वटा दुई पाङ्ग्रे साधन अटाउने गरी पार्किङस्थल बनाइनेछ। होटलमा १३० जनाले रोजगारी पाउनेछन्।

३ अर्ब ५० करोड रुपैयाँ लागतमध्ये ७५ प्रतिशत ऋण लगानी हुनेछ। ऋण लगानी फिर्ताको अवधि १० वर्ष राखिएको छ। बाँकी २५ प्रतिशत भने निजी लगानी हुनेछ।

कर्मा हस्पिटालिटीले होटल निर्माणका कर्ममा वातावरणीय व्यवस्थापनका लागि ४ करोड ५ लाख रुपैयाँ खर्च गर्नेछ।