१३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट, मधेसका १० सँगै कोशीमा धरान बाँकी



बिजमाण्डू
२०८३ साउन ५ गते ०६:२९ | Jul 21, 2026
१३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट, मधेसका १० सँगै कोशीमा धरान बाँकी


काठमाडौं। असार बित्यो, १३ स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट ल्याएका छैनन्। स्थानीय तहहरुमध्ये ७ सय ४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन्।

Tata
GBIME

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन्। सिरहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट ल्याएका छैनन्।

पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले पनि विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही कोटहीमाई गाउँपालिका, कपलिवस्तुको शुद्धोधन गाउँपालिकाले बजेट ल्याएका छैनन्।

कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहले बजेट ल्याएका छन्। वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असार भित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन्।

संविधानअनुसार हरेक वर्षको जेठ १५ गते संघ सरकारको, असार १ गते प्रदेश सरकार र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ। जनप्रतिनिधिहरुबीच राजनीतिक तथा व्यक्तिगत विवाद, कर्मचारी व्यवस्थापनमा प्राविधिक समस्यालगायत कारणले ती स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ।