आइसीटी अवार्डको नोमिनेसन खुला, अन्तर्राष्ट्रिय अवार्डसहित १६ विधा सार्वजनिक



बिजमाण्डू
२०८३ साउन १ गते १४:०७ | Jul 17, 2026
आइसीटी अवार्डको नोमिनेसन खुला, अन्तर्राष्ट्रिय अवार्डसहित १६ विधा सार्वजनिक


काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसीटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला गरिएको छ।

Tata
GBIME

१६ वटा अवार्ड विधामा शुक्रबार खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन्।

लिभिङ विथ आइसीटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको यो अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गते खुला हुन्छ। पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढी सहभागी हुन्छन्।

प्रविधि क्षेत्रका स्टार्टअप, इनोभेसन तथा प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल रूपान्तरणका प्रयासहरूलाई यस अवार्डका विभिन्न विधाहरूले समेट्दै आएका छन्। यसैगरी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमार्फत राष्ट्रलाई पुर्‍याएको योगदानका आधारमा व्यक्तित्वहरूलाई पनि यस अवार्डले सम्मान गर्दै आएको छ।

विगत ३ वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै ‘साउथ एसिया स्टार्टअप आइसीटी अवार्ड’ संचालन हुँदै आएको छ। यसै वर्षदेखि ‘एआई इनोभेसन साउथ एसिया आइसीटी अवार्ड’ पनि सुरु गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वर्ल्ड समिट अवार्ड र एपीक्टा अवार्डसँग पनि आइसीटी अवार्डले सहकार्य गर्दै आएको छ।

अनलाइन नोमिनेसनसँगै करिब ६ महिनाको विशेष तयारीपछि आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रमअघि सबै विधामा २५ भन्दा बढी छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्ट लगायत दर्जनौँ प्रि-इभेन्टहरू हुनेछन्। १६ वटै अवार्ड विधामा उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ जुरी सदस्य रहनेछन् भने सरकारी तथा निजी क्षेत्रका १५ भन्दा बढी विशिष्ट व्यक्तिहरूको सल्लाहकार समिति गठन गरिनेछ।

अवार्डका विधामध्ये क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसीटी अवार्ड तथा सोसल इनोभेसन आइसीटी अवार्ड छन्। यी विधाहरूमा प्रतिस्पर्धीहरूले स्वयं आवेदन दर्ता गर्नुपर्ने नियम छ।

क्याटेगोरी ‘बी’अन्तर्गत प्रविधिमार्फत समाज र राष्ट्रका लागि पुर्‍याएको योगदानका आधारमा अवार्डका लागि छनोट गरिन्छ। यसअन्तर्गत पायोनियर आइसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसीटी अवार्ड (वुमन), आन्टरप्रेनर्स आइसीटी अवार्ड तथा नेपाली डायस्पोरा आइसिटी अवार्ड रहेका छन्।

यी विधाहरूमा स्वयं व्यक्ति वा अन्य कसैले पनि व्यक्तिगत विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन्।

यसैगरी, क्याटेगोरी ‘सी’अन्तर्गत सरकारी तथा निजी संस्थाहरूको डिजिटल रूपान्तरण, नवीनतम प्रविधिको प्रयोग तथा त्यसका लागि गरिएका प्रयासका आधारमा नोमिनेसन लिइनेछ। यसअन्तर्गत डिजिटल गभर्नेन्स आइसीटी अवार्ड, डिजिटल एजुकेसन आइसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसीटी अवार्ड (इन्टरप्राइज सेक्टर) तथा डिजिटल सर्भिसेस आइसीटी अवार्ड (इमर्जिङ सेक्टर) छन्।

यस्तै, क्याटेगोरी ‘डी’अन्तर्गत साउथ एसिया स्टार्टअप आइसीटी अवार्ड र एआई इनोभेसन साउथ एसिया आइसीटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपाल तथा अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीहरूले आवेदन दिन सक्छन्।