काठमाडौं। यातायात कार्यालय एकान्तकुनाले आइतबार एउटा सूचना निकाल्दै यातायात व्यवस्था विभागमा रहेको सर्भरमा समस्या आएको भन्दै अनिश्चितकालका लागि सबै सेवा बन्द भएको जानकारी गराएको छ।
वाग्मती प्रदेश सरकारले जारी गरेको उक्त सूचनामा भनिएको छ- ‘यातायात व्यवस्था विभागमा रहेको सर्भरमा आएको समस्याका कारण ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएकाले कार्यालयबाट प्रवाह हुने लाइसेन्स विवतरण बाहेका सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बेहोरा जानकारी गराइन्छ।’
तर यातायात कार्यालय एकान्तकुनामा केही दिन अगाडिदेखि नै सर्भर बन्द हुने समस्या झेलिरहेको एक सेवाग्राहीले बताए। ‘म शुक्रबार एकान्तकुनामा लाइसेन्स र ब्लुबुक नवीकरण गर्न गएको थिएँ, सिस्टम नचलेर हैरान भएपछि म घर फर्किएँ,’ उनले भने, ‘मसँगै रहेका साथीहरु त्योभन्दा अघिल्ला दिनदेखि दुःख पाइरहेका थिए। तर, हिजो आइतबार बिदाको दिन कार्यालयले सूचना निकाल्दै सर्भर बन्द भएको जानकारी दिएछ।’
फेरि उनले भने, ‘मैले यो आर्थिक वर्षको करहरु तिर्नुपर्ने थियो। असारमसान्तसम्म मैले उक्त कर तिर्न पाइन भने अर्को आर्थिक वर्षको पनि तिर्नुपर्छ। त्यसमा पनि अब करहरु वाग्मती सरकारले सबैको दोब्बर बनाएको छ। अब के हुन्छ?’
प्रणालीको अवरोधबाट सेवाग्राहीलाई पर्ने मर्काबारे ग्रुपमा कुरा भए पनि निचोड केही आउन नसकेको वाग्मती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख विमलप्रसाद भट्टराईले बताए। उनका अनुसार सिस्टम शुक्रबारदेखि ठप्प छ। त्यो भन्दा अघि अवरुद्ध हुँदै-खुल्दै चलिरहेको थियो।
‘विभागसहितको एउटा ग्रुपमा यस विषयमा कुरा भइरहेका छन्। तर विभागले पनि किन यस्तो भएको र कहिलेसम्म समस्या समाधान हुन्छ भन्ने कुरा निश्चित जवाफ दिन सकेको छैन। कहिलेसम्म हुन्छ भनेर पनि भनेका छैनन्,’ भट्टराईले भने।
अहिले लाइसेन्सका लागि समस्या भइरहेको छ। साउन १ गतेदेखि दोब्बर दस्तुर लाग्छ। त्यही अनुसार सरकराले असारसम्मको गर्न पाएन भने ठूलो समस्या खडा हुन सक्ने भट्टराईको भनाइ छ। अब पेन्डिङ फाइलहरु धेरै बस्छ। त्यसपछि भिडभाड हुन्छ। अर्को भनेको अर्को आर्थिक वर्ष लागेपछि दस्तुरहरु सबै दोब्बर छन्।









