काठमाडौं। विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सकारात्मक देखिएका छन्।
प्रधानमन्त्री बालेन शुक्रबार ऊर्जा उद्यमीहरुसँगको संवादमा निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा संलग्न गराउने विषयमा सकारात्मक देखिएका हुन्। उनले ऊर्जा उद्यमीहरुसँग प्रधानमन्त्री कार्यालयमा झण्डै सवा घण्टा छलफल गरेका थिए।
छलफलका क्रममा ऊर्जा उद्यमीहरुले पीपीए खुलाउनपर्नेदेखि बिजुली व्यापार र प्रसारण लाइन निर्माणमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोड्नुपर्ने कुरा उठाएका थिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले आफूहरुले उठाएका मागमा प्रधानमन्त्री सकारात्मक भएको बताए।
‘प्रधानमन्त्रीज्यूसँग हाम्रो निकै गम्भीर र सकारात्मक छलफल भयो। छलफल एकदमै फ्रुटफुल र इन्टर्याक्टिभ’ रह्यो,’ वरिष्ठ उपाध्यक्ष लामाले भने, ‘हामीले आफ्ना माग राख्दै गर्दा उहाँले बीच-बीचमा रोकेर धेरै कुराको प्राविधिक र कानुनी पाटोबारे थप बुझ्न चाहनुभयो। उहाँ एकदमै सहजरूपमा प्रस्तुत हुनुभएकाले हामी निकै आशावादी भएका छौं।’
इप्पानले प्रधानमन्त्री बालेनसामु ४७ बुँदे मागपत्र पेस गरेको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीरूले आफ्ना माग प्रस्तुत गरिरहँदा प्रधानमन्त्री आफैंले बीच-बीचमा रोकेर प्राविधिक र व्यावहारिक पक्षबारे थप जिज्ञासा राखेका थिए।
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनु पर्ने मागमा बालेनले थप डकुमेन्ट उपलब्ध गराउन आग्रह गरेका छन्। ‘हामीले विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गराउनु पर्ने कुरा प्रधानमन्त्रीसामु राख्यौं,’ लामाले भने, ‘उहाँले यस विषयमा के गर्दा राज्यको हितमा हुन्छ भनेर बुझ्नु भयो। साथै थप डकुमेन्ट माग्नु भएको छ।’











