काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक विदेशी अधिकारीसँग ‘वान वन वान’ वार्ता गरेका छन्।
यसअघि राजदूतहरुसँग सामूहिकरुपमा मात्र वार्ता गरेका बालेनले मंगलबार एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्डासँग ‘वान वन वान’ वार्ता गरेका हुन्।
उनीहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

एडीबीका अध्यक्ष कान्डा आइतबार राति नेपाल आएका थिए। नेपालको सबैभन्दा ठूलो बहुपक्षीय साझेदारको रुपमा रहेको एडीबीका अध्यक्ष कान्डाले काठमाडौं आएलगत्तै सामाजिक सञ्जालमार्फत नयाँ सरकारसँग सिक्न र बुझ्न चाहेको बताएका थिए।
उच्च स्रोतका अनुसार कान्डालाई प्रधानमन्त्री बालेनसँग वार्ता गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धेरै नै जोडबल गरेका थिए।

सरकारका तर्फबाट एडीबीको मुख्यालमावैकल्पिक कार्यकारी निर्देशकका रुपमा कार्यरत श्रीकृष्ण नेपाल पनि प्रधानमन्त्रीसँग कान्डाको भेट गराउन सोमबार प्रधानमन्त्री कार्यालय पुगेका थिए।
कान्डाको उपस्थितिमा एडीबी र नेपालबीच सोमबार २५ अर्ब ८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।











