काठमाडौं। स्पेन फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। विश्वकपको आज सम्पन्न सम्पन्न प्रिक्वाटरफाइल खेलमा पोर्चुगललाई १-० गोलको कठिन जित निकाल्दै स्पेन क्वाटरफाइनलमा पुगेको हो।
डलासमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलको अधिकांश समय दुवै टोली गोलरहित बराबरीमा रहे। खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिइरहेका बेला इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए। मेरिनो सब्सिच्युड खेलाडीको रुपमा ८५ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।
स्पेनको फ्रिकिक आक्रमणमा फाबियान रुइजले फेरान टोरेसलाई पास दिएका थिए। टोरेसको आकर्षक थ्रु पासलाई मेरिनोले सदुपयोग गर्दै गोलरक्षक डियोगो कोस्टालाई बिट गरेपछि स्पेनले निर्णायक अग्रता बनायो।
त्यसपछि पोर्चुगलले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गर्यो। इन्जुरी समयको छैटौं मिनेटमा फ्रान्सिस्को कोन्सेसाओको उत्कृष्ट क्रसमा बर्नार्डो सिल्भाले हेडमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि उनको प्रयास बारमाथिबाट बाहिरियो। अन्तिम मिनेटमा जोआओ नेभेसको डाइभिङ हेडर पनि थोरै अन्तरले बाहिरिएपछि पोर्चुगलको पुनरागमनको आशा समाप्त भयो।
खेलभर स्पेनले बलमाथि नियन्त्रण राख्दै बढी अवसर सिर्जना गरेको थियो। पहिलो हाफमै मिकेल ओयारजाबालले वनभर्सेस वानमा गोल गर्ने उत्कृष्ट अवसर गुमाएका थिए भने लामिन यामाल, दानी ओल्मो र एलेक्स बाएनाले पनि पोर्चुगलको रक्षापंक्तिलाई लगातार दबाबमा राखेका थिए। यद्यपि गोलरक्षक डियोगो कोस्टाले केही उत्कृष्ट बचाउ गर्दै पोर्चुगललाई लामो समयसम्म खेलमा कायम राखेका थिए।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले केही अवसर सिर्जना गरे पनि स्पेनको संगठित रक्षापंक्तिलाई भेद्न सकेनन्। दोस्रो हाफमा नुनो मेन्डेस चोटका कारण मैदान छाड्न बाध्य हुनु पनि पोर्चुगलका लागि ठूलो धक्का बन्यो।
यो जितसँगै स्पेनले लगातार पाँचौं खेलमा पनि क्लिनसिट कायम राख्दै उपाधि यात्रालाई निरन्तरता दिएको छ। अब स्पेनले सेमिफाइनल प्रवेशका लागि क्वाटररफाइनलमा अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।











