मस्कदेखि जुकरबर्गसम्म : अर्बपतिहरूले के-केमा गर्छन् खर्च र लगानी?

बिजमाण्डू
२०८३ कात्तिक ४ गते ०६:४८ | Oct 20, 2026
मस्कदेखि जुकरबर्गसम्म : अर्बपतिहरूले के-केमा गर्छन् खर्च र लगानी?


विश्वका सबैभन्दा धनी उद्यमीहरूको पैसा महँगा घर, निजी विमान र विलासी जीवनमा मात्र खर्च हुँदैन। उनीहरूले आफ्नो सम्पत्तिको ठूलो हिस्सा व्यवसाय विस्तार, कृत्रिम बौद्धिकता (एआई), अन्तरिक्ष प्रविधि, स्वास्थ्य अनुसन्धान र अन्य दीर्घकालीन परियोजनामा पनि लगानी गरिरहेका छन्।

GBIME
Tata

ब्लुमबर्ग, फाइनान्सियल टाइम्स र फर्च्युन लगायतका सञ्चारमाध्यमका पछिल्ला रिपोर्टले एलन मस्क, जेफ बेजोस, ल्यारी पेज, सर्गेई ब्रिन र मार्क जुकरबर्गको आर्थिक गतिविधिमा व्यक्तिगत विलासितासँगै भविष्यका प्रविधि र व्यवसायमा ठूलो दाउ लगाउने प्रवृत्ति देखाएका छन्।

यी अर्बपतिहरूको कुल सम्पत्ति भनेको बैंक खातामा रहेको नगद रकम होइन। यसको ठूलो हिस्सा आफ्नै कम्पनीका सेयर, निजी व्यवसाय, लगानी र अन्य सम्पत्तिमा हुन्छ। त्यसैले नै मूल्य सेयर बजार तथा कम्पनीको मूल्याङ्कनअनुसार घटबढ भइरहन्छ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सले पनि सार्वजनिक कम्पनीमा रहेको सेयरको पछिल्लो बजार मूल्यका आधारमा अर्बपतिहरूको सम्पत्ति गणना गर्छ। त्यसैले कुनै अर्बपतिको सम्पत्ति एकै दिन अर्बौं डलरले बढ्नु वा घट्नुको अर्थ उनीहरूले बैंक खातामा त्यति रकम जम्मा भयो भन्ने होइन।

एलन मस्क

एलन मस्कको आर्थिक साम्राज्य यसको सबैभन्दा उल्लेखनीय उदाहरण हो। टेस्ला, स्पेसएक्स, एक्स र एआईसम्बन्धी व्यवसायसँग जोडिएका उनको सम्पत्ति मुख्यतः कम्पनीहरूमा रहेको स्वामित्वबाट बनेको छ। उनको व्यावसायिक रणनीति विद्युतीय सवारीसाधन, अन्तरिक्ष यात्रा, स्याटेलाइट सेवा र एआई पूर्वाधारमा केन्द्रित छ।

मस्कको खर्चको ठूलो हिस्सा व्यक्तिगत उपभोगभन्दा व्यवसाय विस्तारसँग जोडिएको छ। रोयटर्सले सन् २०२६ मा स्पेसएक्सको सार्वजनिक सेयर निष्कासनसम्बन्धी विवरणका आधारमा प्रकाशित गरेको रिपोर्टमा मस्कसँग सम्बन्धित कम्पनीहरूबीचको कारोबार, उपकरण खरिद, विमान प्रयोग र एआई पूर्वाधारमा भएको खर्चबारे जानकारी दिएको छ।

उक्त रिपोर्टअनुसार सन् २०२५ मा स्पेसएक्स र एक्सएआईले टेस्लाका उत्पादन तथा सेवामा संयुक्त रूपमा करिब ६५ करोड डलर खर्च गरेका थिए। यसमध्ये करिब ५० करोड ६० लाख डलरको मेगाप्याक ब्याट्री प्रणाली र १३ करोड १० लाख डलरको साइबरट्रक खरिदसमेत समावेश थियो, जसले मस्कसँग सम्बन्धित कम्पनीहरूबीचको आर्थिक सम्बन्ध कति गहिरो रहेको देखाउँछ।

मस्कको व्यवसाय विस्तारमा अन्तरिक्ष प्रविधि र एआईको सम्बन्ध झन् महत्त्वपूर्ण बन्दै गएको छ। कम्पनीहरूले एआईका लागि आवश्यक कम्प्युटिङ क्षमता, ऊर्जा आपूर्ति र चिप उत्पादनसम्बन्धी पूर्वाधार विकास गर्न खोजिरहेका छन्, जसमा अर्बौं डलर खर्च हुने सम्भावना छ।

यद्यपि मस्कको व्यक्तिगत जीवनमा हुने खर्चबारे सार्वजनिक विवरण सीमित छन्। वाल स्ट्रिट जर्नलले सन् २०२६ मा प्रकाशित गरेको विश्लेषणमा उनको सम्पत्तिको ठूलो हिस्सा कम्पनीका सेयर र विकल्पमा रहेको उल्लेख गर्दै सम्पत्तिको कागजी मूल्य र तत्काल खर्च गर्न सकिने नगदबीचको अन्तर स्पष्ट पारेको थियो।

जेफ बेजोस

अमेजनका संस्थापक जेफ बेजोसको आर्थिक जीवनमा व्यवसाय विस्तारसँगै घरजग्गा, निजी याट र अन्तरिक्ष प्रविधिले पनि महत्त्वपूर्ण स्थान ओगटेका छन्। ब्लुमबर्गका अनुसार उनले सन् २०२५ मा विवाहको समय आसपास अमेजनका सेयर बिक्री गरेर करिब ५ अर्ब ७० करोड डलर प्राप्त गरेका थिए।

बेजोसले अमेजनबाट प्राप्त सम्पत्तिलाई अन्य क्षेत्रमा विस्तार गर्न प्रयोग गर्दै आएका छन्। ब्लुमबर्गको विवरणअनुसार उनी अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनका मालिक हुन् भने कम्पनीको वित्तपोषणका लागि वर्षौंदेखि अमेजनका सेयर बिक्री गर्दै आएका छन्। उनको निजी लगानी व्यवस्थापन गर्ने संस्था बेजोस एक्सपेडिसन्सले व्यक्तिगत सम्पत्तिसम्बन्धी गतिविधि सम्हाल्छ।

उनको जीवनशैलीको चर्चित उदाहरण करिब ५० करोड डलर मूल्यको निजी याट कोरु हो। यो याट सन् २०२३ मा समुद्री परीक्षणमा गएको थियो। बेजोसले सन् २०१३ मा वासिङ्टन पोस्ट करिब २५ करोड डलरमा किनेका थिए, जसले उनको लगानी प्रविधि र अनलाइन व्यापारमा मात्र सीमित नरहेको देखाउँछ।

बेजोसको खर्चको अर्को पक्ष परोपकार हो। उनले सन् २०१८ मा सामाजिक क्षेत्रमा दुई अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएका थिए भने सन् २०२० मा जलवायु परिवर्तनका प्रभाव कम गर्न १० अर्ब डलर दान गर्ने घोषणा गरेका थिए।

ल्यारी पेज

गुगलका सहसंस्थापक ल्यारी पेजको खर्चमा घरजग्गा र प्रविधि व्यवसाय दुवै देखिन्छन्। फर्च्युनले सन् २०२६ जनवरीमा प्रकाशित गरेको रिपोर्टअनुसार पेजले अमेरिकाको मायामीस्थित कोकोनट ग्रोभ क्षेत्रमा दुईवटा समुद्रकिनार नजिकका घर किन्न करिब १७ करोड ३४ लाख डलर खर्च गरेका थिए।

यसले अत्यधिक सम्पत्ति भएका उद्यमीहरूले आफ्नो आवासीय सम्पत्ति पनि विविधीकरण गर्ने गरेको देखाउँछ। तर, यस्तो खरिदलाई केवल उपभोगका रूपमा मात्र बुझ्नु उचित हुँदैन। किनभने घरजग्गा व्यक्तिगत आवाससँगै दीर्घकालीन सम्पत्तिका रूपमा पनि राख्न सकिन्छ र यसको वास्तविक लगानी उद्देश्यबारे सम्बन्धित व्यक्तिको स्पष्ट विवरण आवश्यक हुन्छ।

पेजको अधिकांश सम्पत्ति गुगलको माउ कम्पनी अल्फाबेटमा रहेको सेयरसँग सम्बन्धित छ। फाइनान्सियल टाइम्सको सन् २०२५ को विश्लेषणअनुसार गुगलको एआई प्रविधिमा भएको प्रगतिले पेज र अर्का सहसंस्थापक सर्गेई ब्रिनको सम्पत्ति बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

सर्गेई ब्रिन

सर्गेई ब्रिनको खर्च भने व्यावसायिक लगानीसँगै स्वास्थ्य अनुसन्धान र जलवायु परिवर्तनसम्बन्धी परोपकारी काममा पनि केन्द्रित छ। ब्लुमबर्गले सन् २०२५ मा प्रकाशित गरेको रिपोर्टअनुसार उनले त्यही वर्ष मे महिनामा अल्फाबेटका करिब ७० करोड डलर बराबरका सेयर परोपकारी संस्थाहरूलाई दिएका थिए।

ब्रिनले स्थापना गरेको क्याटालिस्ट४ संस्थाले स्नायु प्रणालीसम्बन्धी रोगको अनुसन्धान र जलवायु परिवर्तनको समाधानमा काम गर्ने परियोजनालाई सहयोग गर्छ। ब्लुमबर्गको अर्को रिपोर्टअनुसार ब्रिनसँग सम्बन्धित लगानीमा पार्किन्सन रोग अनुसन्धान, स्वास्थ्य प्रविधि र ऊर्जा समाधानसँग सम्बन्धित स्टार्टअपहरू पनि समावेश छन्।

इनसाइड फिलान्थ्रोपीले सन् २०२६ जनवरीमा प्रकाशित गरेको विवरणमा ब्रिन परिवारको फाउन्डेसनले सन् २०२५ मा १ अर्ब १० करोड डलर अनुदान दिएको उल्लेख गरेको छ। यसअघि सन् २०२४ मा उक्त फाउन्डेसनबाट ६९ करोड ९० लाख डलर अनुदान वितरण भएको थियो।

यसले ब्रिनको पैसा खर्च गर्ने शैली केवल विलासी जीवनमा सीमित नरहेको देखाउँछन्।

मार्क जुकरबर्ग

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको सम्पत्तिको मुख्य आधार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ क्मपनी मेटामा रहेको स्वामित्व हो। ब्लुमबर्गका अनुसार उनको सम्पत्तिको ठूलो हिस्सा मेटाको सेयरबाट बनेको छ। उनले आफ्नो सम्पत्तिको ठूलो अंश जीवनकालमा परोपकारी काममा दिने योजना सार्वजनिक गरिसकेका छन्।

जुकरबर्गको व्यक्तिगत खर्चमा घरजग्गाले ठूलो स्थान ओगटेको छ। फर्च्युनले सन् २०२६ फेब्रुअरीमा प्रकाशित गरेको रिपोर्टअनुसार उनी र उनकी पत्नी प्रिसिला चानले फ्लोरिडाको इन्डियन क्रिक आइल्याण्डमा रहेको महँगो घर किनेका थिए। जसको बजार मूल्य १५ करोडदेखि २० करोड डलरसम्म हुन सक्ने अनुमान गरिएको थियो।

उनको घरजग्गा सम्पत्ति क्यालिफोर्नियाको पालो अल्टो र हवाईको काउई टापुसम्म फैलिएको छ। फर्च्युनका अनुसार उनले पालो अल्टोमा छिमेकी घरहरू खरिद गर्न वर्षौंदेखि करिब ११ करोड डलर खर्च गरेका छन् भने हवाईस्थित कोओलाउ र्‍यान्च नामको सम्पत्तिले करिब १ हजार ४०० एकड क्षेत्र समेटेको छ।

तर, जुकरबर्गको आर्थिक प्राथमिकता घरजग्गामा मात्र सीमित छैन। मेटाले एआई मोडेल, डाटा सेन्टर, कम्प्युटिङ क्षमता र दक्ष अनुसन्धानकर्तामा ठूलो लगानी गरिरहेको छ, जसका कारण कम्पनीको खर्च र भविष्यमा त्यसबाट प्राप्त हुन सक्ने प्रतिफलबारे लगानीकर्ताहरूले नजिकबाट निगरानी गरिरहेका छन्। फाइनान्सियल टाइम्सले सन् २०२५ को विश्लेषणमा मेटाको ठूलो एआई खर्चप्रति लगानीकर्ताको चिन्ता पनि उल्लेख गरेको थियो।