काठमाडौं। घरजग्गा रोक्का फुकुवा अनलाइनबाट गर्न सकिने भूसेवा प्रणाली डेढ महिनामै अनिश्चितकालका लागि बन्द भएको छ।
सर्भरमा समस्या देखिएको भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले यो सेवा तत्कालका लागि बन्द गरेको हो।
अब बैंकबाट हुने रोक्का फुकुवा पुरानै शैलीमा हुने विभागले जनाएको छ। ‘यस विभागद्वारा सञ्चालित पाम(पब्लिक एक्सेस मोडल)तर्फको सर्भर मर्मत सम्भार तथा स्तरोन्नतिको कार्य भइरहेकोले अर्को सूचना प्रकाशित नभएसम्मका लिखत तथा निवेदन टाइप गरी सेवा लिन आएमा भूमि प्रशासन कार्यालय स्थानीय तहले एलआरआइएमएस प्रणालीको सर्भिस डेस्कबाट विवरण प्रविष्टि गरी सेवा सञ्चालन गर्न गराउन हुन यो सूचना प्रकाशित गरिएको छ,’ विभागले सोमबार जारी गरेको सूचनामा भनिएको छ।
सरकारले गत जेठ १ गतेबाट सहकारीबाहेक सबै बैंकलाई घरजग्गा रोक्का फुकुवा अनिवार्य रुपमै अनलाइनबाट गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। यसका लागि सबै बैंकले भू-सेवा लाइसेन्स लिइसकेका छन्।
तर अनलाइन प्रणालीमा अनेकन समस्या देखिँदा कारोबार छिटो छरितो हुन नसकेको बैंकरहरु बताउँछन्। ‘पहिले पनि पटकपटक समस्या देखिएको थियो। समस्या आएपछि आज त बन्द नै गरेछन्। तीन दिनसम्म मिलाउँछु भन्ने कुरा आएको छ,’ एक बैंकरले भने।
देशभरका १३५ भूमि प्रशासन कार्यालयमा बैंकिङ प्रणालीबाट गरिने घरजग्गा रोक्का फुकुवा अनलाइनबाट हुन थालेको थियो। यसअघि लेखपढी व्यवसायीको सहयोगमा काम गर्दै आएका बैंकर्सले आफैं काम गर्नुपर्ने भएपछि वैशाख दोस्रो साता भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत तालिम लिएका थिए।
भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले १०० दिनमा गरेको कामको सूचीमा ‘जग्गा रोक्का फुकुवा बैंकबाटै, मालपोत धाउन नपर्ने’ उल्लेख गरेकी छन्।











