युक्रेनी सेनाले रसियाका तेल प्रशोधन केन्द्रहरूलाई लगातार निशाना बनाइरहेका छन्। जसकारण रसियामा इन्धन संकट उत्पन्न भएको छ।
यसैबीच, भारतको तेल प्रशोधन कम्पनी ‘नायरा इनर्जी’ ले रसियालाई पेट्रोलियम पदार्थ बिक्री गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। यसअघि भारतले रसियाबाट तेल आपूर्ति गर्दै आइरहेको थियो।
गत बुधबार भारतबाट ६० हजार मेट्रिक टन पेट्रोल रसियातर्फ पठाइएको जनाइएको छ। ३० हजारदेखि ४० हजार टनसम्म क्षमता भएका दुईवटा तेल ट्यांकरहरूबाट तेल पठाइएको हो।
नायरा इनर्जीद्वारा उत्पादन गरिएको इन्धन अन्तर्राष्ट्रिय व्यापारीहरूमार्फत रसियालाई बेचिएको जनाइएको छ।
यद्यपि, नायरा इनर्जीले आधिकारिक रूपमा यसको पुष्टि गरिसकेको छैन।
भारतीय तेल मन्त्री हरदीप सिंह पुरीले भारतीय कम्पनीहरूले रसियालाई सिधै इन्धन बिक्री नगरेको दाबी गरेका छन्। तर, उनले अन्तर्राष्ट्रिय व्यापारीहरूमार्फत रसियाले भारतीय मूलको इन्धन खरिद गरेको हुनसक्ने सम्भावनालाई भने स्वीकार गरेका छन्।
पछिल्लो समय युक्रेनी सेनाले रसियाका तेल रिफाइनरीहरूमा ड्रोन आक्रमण गरिरहेका छन्। जसकारण त्यहाँका प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ। आक्रमणपछि इन्धन अभाव भएको छ।
विश्वकै ठूला ऊर्जा उत्पादकहरूमध्ये एक मानिने रसियाका लागि यो इन्धन संकट ठूलो चुनौती बनिरहेको छ। यस संकटका कारण रसियाका धेरै क्षेत्रमा इन्धनको माग बढ्दा कोटा प्रणाली लागू गर्नुपरेको जनाइएको छ।
मार्च महिनायता युक्रेनले रसियाली तेल रिफाइनरी, डिपो, टर्मिनल र अन्य ऊर्जा पूर्वाधारहरूमा ५० भन्दा बढी पटक आक्रमण गरिसकेको छ। क्रिमियामा पनि युक्रेनले आक्रमण गरिरहेको छ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले इन्धन अभाव भएको स्वीकार गरेका छन्। यद्यपि, उनले यो अभाव अल्पकालीन मात्र भएको दाबी गरेको जनाइएको छ।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको दाबीको खण्डन गरेका छन्। उनले तेलको धनी राष्ट्र रसिया आफैँ अहिले इन्धनको अभाव झेलिरहेको बताएका छन्।
के हो नायरा इनर्जी?
नायरा इनर्जी तेल प्रशोधन र बजारीकरण गर्ने भारतीय कम्पनी हो। यसले भारतको पश्चिमी राज्य गुजरातको वाडिनारमा देशकै दोस्रो ठूलो निजी तेल रिफाइनरी संचालन गरिरहेको छ।
त्यहाँबाट दैनिक ४ लाख ब्यारेल कच्चा तेल प्रशोधन हुने जनाइएको छ।
सन् २०१५ मा आर्थिक संकटबाट गुज्रिरहेको भारतीय कम्पनी ‘एस्सार’बाट नायराले यो रिफाइनरी खरिद गरेको थियो। यो खरिद प्रक्रिया निकै जटिल थियो।
अलजजिराका अनुसार सो प्रक्रिया अर्धसरकारी र अर्धनिजी सम्झौताको अनुसार गरिएको थियो। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका थिए।
त्यस समयमा पुटिनले रसियाको ठूलो सार्वजनिक क्षेत्रको तेल कम्पनी ‘रोस्नेफ्ट’मा रहेको सरकारी सेयर बिक्री गर्न खोजिरहेका थिए।
मोदी र पुटिनबीच भएको सहमतिपछि भारतीय सार्वजनिक क्षेत्रका तेल कम्पनीहरूले रोस्नेफ्टको सेयर खरिद गरेको थियो। त्यसपछि रोस्नेफ्टले हालको नायराको ४९ प्रतिशत सेयर खरिद गरेको थियो।
नायराको बाँकी ४९ प्रतिशत सेयर ‘युनाइटेड क्यापिटल पार्टनर्स’ नामक रसियाको एसेट म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा छ।
नायराले ‘भारतमा र भारतकै लागि’ भन्दै देशको बढ्दो ऊर्जा माग पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
तर, अलजजिराले भने यो कम्पनीको स्वामित्वको ढाँचाले रसियाली संस्थाहरूकै नियन्त्रणमा रहेको देखिएको उल्लेख गरेको छ। नायराले व्यापारीहरूमार्फत कच्चा तेल आयात गर्दै सस्तो रसियाली तेलमा बढी निर्भर रहेको विश्वास गरिन्छ।
युरोपेली संघले गत वर्षको जुलाईमा नायरा इनर्जीमाथि प्रतिबन्ध लगाएको थियो। यस प्रतिबन्धअन्तर्गत रसियाली कच्चा तेल प्रयोग गरी प्रशोधन गरिएका पेट्रोलियम पदार्थहरूको आयातमा रोक लगाइएको थियो।











