अटो शोका लागि धमाधम नयाँ सवारी भित्र्याउँदै व्यवसायी, नेपालमा उत्पादित यात्री स्कुटर पनि राखिने



बिजमाण्डू
२०८३ साउन १२ गते १२:३० | Jul 28, 2026
अटो शोका लागि धमाधम नयाँ सवारी भित्र्याउँदै व्यवसायी, नेपालमा उत्पादित यात्री स्कुटर पनि राखिने


काठमाडौं। आसन्न अटो शोलाई लक्षित गर्दै व्यवसायीहरुले धमाधम नयाँ सवारीसाधन भित्र्याउन थालेका छन्।

Tata
GBIME

अटो व्यवसायीहरुको संगठन नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन(नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले क्रमश: यही साउन र भदौमा गर्न लागेको अटो शोलाई लक्षित गर्दै बिक्रेता कम्पनीहरुले धमाधम नयाँ गाडी भित्र्याउन थालेका हुन्।

गत वर्षको अटो शोमार्फत करिब एक दर्जन नयाँ ब्रान्डका सवारीसाधन बजारमा ल्याएका व्यवसायीले यसपालि पनि नयाँ मोडल र ब्रान्ड सार्वजनिक गरिरहेका छन्।

आधिकारिक बिक्रेता कम्पनीले सन् २०२६ भित्र विभिन्न सेग्मेन्टका नयाँ एसयूभी, क्रसओभर तथा ह्याचब्याक मोडल ल्याउने तयारी अनुसार गाडी ल्याइरहेका छन्। कतिपय नयाँ गाडी र बाइक तथा स्कुटर नेपाल ल्याउने तयारी छ। केही सवारीसाधन नेपाल भित्र्याएर अहिले परीक्षणको चरणमा छन्।

व्यवसायीहरुले चेरी क्यूक्यू, बीएआईसी, आरफक्स, चांगन निभो, जेटोर, लेपास र हंकी जस्ता नयाँ ब्राण्ड ल्याउने निश्चित भएको छ। यी सबै अहिले चीनमा परिचित ब्रान्ड हुन्। जसले इभी उत्पादन गरिरहेका छन्।

चेरीको क्यूक्यू ब्राण्डमा क्यूक्यू ३ क्रसओभर ह्याचब्याक कार र आरफक्स ब्राण्डमा टी-१ मोडल प्रिमियम ह्याचब्याक कार नाइमा र नाडा अटो शो दुवैमा देखिनेछन्।

अटो शोलाई लक्षित गरी बीवाइडी सिलायन ०८, डिपल नेभो ए०५, जिली ईएक्स २ र लिपमोटर बी०३(ए१०) जस्ता नयाँ मोडलका गाडी सार्वजनिक गर्ने तयारी गरिएको छ। यी गाडीका विक्रेताले मूल्य र बिक्री मितिबारे भने अहिलेसम्म आधिकारिक रुपमा जानकारी दिएका छैनन्।

प्रोटोनको इम्यास जेरो फाइभ भने नेपाली बजारमा सार्वजनिक भइसकेको छ।

Screenshot

यस्तै लिपमोटरको बी जेरो थ्री मोडल भन्सार नाकामा आइपुगेको छ। यो गाडी नाइमा मोबिलिटी एक्स्पोमा राखिनेछ। आइकार ब्राण्डको भी २७ मोडल गाडी पनि नेपालमा आइसकेको छ। अहिले यो गाडी परीक्षणको चरणमा छ।

विशाल ग्रुपले चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने कार ब्रान्ड होङसी पनि अटो शोमा ल्याउने तयारी थालेको छ। कम्पनीले यसबारेमा आधिकारिक रुपमा जानकारी दिइसकेको छ।

टाटाको सियारा इभी प्रोटोटाइप अटो शोमा देख्न पाइने भएको छ। बीवाइडीको प्रिमियम ब्रान्ड डेन्जा पनि नाइमा मोबिलिटी एक्सपोमा आउनेछ। यसका ३ वटा मोडल डेन्जा बी ५, डेन्जा बी ८ र डेन्जा डी ९ प्रदर्शनीमा राखिनेछ। बिक्रेता कम्पनी साइमेक्स इंक बीवाइडीको एटो ३ को फेसलिफ्ट पनि ल्याउने तयारीमा छ।

चांगन डिपलको नयाँ मोडल डिपल एस ०३, रिडाराको आरडी ६ ईकन, आयोन भी, एमजीको एमजी फोर अर्बन गाडी, एमजीकै हाइब्रिड र पिकअप इभी पनि अटो शोमा राख्ने बिक्रेता कम्पनीहरुको तयारी छ। एमजी यू ९ र एमजी एचएस हाइब्रिडमा आउनेछन्।

यसैगरी वुलिङको नयाँ गाडीहरु पनि अटो शोमा देख्न पाइनेछ। जसमा कम्पनीले वुलिङको दुई वटा मोडल नेपाल ल्याएर परिक्षण गरिराखेको छ। वुलिङको स्टारलाइट ५६० इभि पनि अटो शोमा देख्न पाइनेछ।

दुई पाङ्ग्रेतर्फ हिरोको इलेक्ट्रिक ब्रान्ड भिडा र यामाहा एक्सएसआर १५५ नयाँ बाइक अटो शोमा राखिंदैछ। एमएडब्लूले नयाँ इभीका लागि पनि स्टल बुक गरेको छ।

यसमा हिरोको भिडा साउन १० गते नेपाली बजारमा सार्वजनिक गरिएको छ।

एक्सएसआर १५५ भने नेपाल भित्रिएर परीक्षणको क्रममा छ।

यस्तो टीभीएसले केही दिन अगाडि नेपालमा सार्वजनिक गरेको अर्बिटर इभी स्कुटर पनि अटो शोमा देख्न पाइनेछ।

Screenshot

नयाँ मोडलका सवारीसाधन अटो शोमा सरप्राइजका रुपमा ल्याउने तयारी पनि विक्रेता कम्पनीले गरिरहेका छन्।

बजारमा जति नयाँ सवारीसाधन भित्रियो, त्यति नै प्रतिस्पर्धा बढ्छ। ग्राहकले विभिन्न अफर समेत पाउनेछन्। गत वर्ष व्यवसायीहरुले २० लाखसम्म छुटको अफर ल्याएका थिए।

अटो व्यवसायीका अनुसार विद्युतीय सवारीलाई प्रवर्धन गर्ने सरकारी नीति, चार्जिङ पूर्वाधार विस्तार तथा ग्राहकको बढ्दो आकर्षणका कारण नेपाल दक्षिण एसियाकै द्रुत गतिमा विस्तार भइरहेको इभी बजारमध्ये एक बनेको छ। यही कारण चिनियाँ, भारतीय र अन्य देशका ब्रान्डबीच नेपाली बजारमा प्रतिस्पर्धा झन् तीव्र हुने अपेक्षा गरिएको छ।

नेपालमा निर्मित सिप्रदी यात्री नाडा अटो शोमा

नाडा अटो शोमा अहिलेसम्म अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधनले मात्रै स्थान पाउँदै आएकामा यसपटक ‘मेड इन नेपाल’ विद्युतीय स्कुटर ‘यात्री पी-२’ पनि राखिने भएको छ।

सिप्रदी यात्री प्रालिले भदौ ९ गतेदेखि हुने नाडा अटो शोमा प्रदर्शनीका लागि आफ्नो स्टल सुनिश्चित गरिसकेको छ। कम्पनीले नेपालमै डिजाइन र उत्पादन गरिएको स्कुटरको बुकिङ खुला गर्ने तयारी गरेको छ।

देशको भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको स्कुटर अहिले अन्तिम चरणको परीक्षणमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पी-२ स्कुटरलाई देशका विभिन्न भौगोलिक क्षेत्रमा चलाएर परीक्षण गरिएको छ। सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त लगानीमा विकास गरिएको स्कुटरको क्षमता तराईदेखि पहाडी र हिमाली क्षेत्रसम्म परीक्षण गरिएको कम्पनीको दाबी छ।

काठमाडौं, हेटौंडा, भरतपुर, नुवाकोट, कुरी, जिरी, फापरबारी, मुलकोट, कटारी, वालिङ, राम्दीघाट लगायत क्षेत्रमा स्कुटर परीक्षण गरिएको छ।

कच्ची सडकदेखि उकालो, ओरालो, अफरोड र कठिन भू-भागमा समेत स्कुटर परीक्षण गरिएको छ। पी-२ ले परीक्षणका क्रममा हालसम्म १० हजार किलोमिटरभन्दा बढी यात्रा पूरा गरिसकेको छ।

अटो शोमा कुन-कुन ब्रान्ड?

नाइमा मोबिलिटी एक्स्पोमा चार पांग्रेतर्फ हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाइडी, ओमोडा एण्ड जेको, एमजी-जीओ अटोमोबाइल, एमजी-पारामाउन्ट मोटर्स, सिट्रोन, आइकार, हेन्सरी भोल्ट्स, फोर्थिङ, डेन्जा, काइ, होन्री बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, एमजी, जिकर, लिपमोटर, वुलिङ, जीकर लगायत ब्राण्डका गाडी हुनेछन्।

दुई पांग्रेतर्फ बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूजो र बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटो/सीएक्स मोटरसाइकल लगायत ब्रान्ड रहने नाइमाले जनाएको छ।

यस्तै कर्मियल भेहिकलतर्फ चेरी वान्डा, केरी, केयटन र स्काईवर्थले नाइमा मोबिलिटी एक्सपोमा स्टल राख्नेछन्।

यसैगरी, नाडा अटो शोमा दुई पाङ्ग्रेतर्फ रोयल इन्फिल्ड, सिप्रदी यात्री, हिरो, भिडा, एम्पियर, यामाहा, जोनसेन, क्युजे मोटर र एमसी मोटर तथा चार पाङ्ग्रेतर्फ रिडारा, सुजुकी, डिपल, अवतार, चेरी ओमोडा, डोङफेङ नामी, फोटोन, स्कोडा, एक्सपेङ, जीडब्लूएम, टाटा, एमजी, प्रोटोन, बीवाइडी, आयोन, बीएडब्लू र जीलीका सवारीसाधन देख्न पाइनेछ।

यस्तै लाइट कमर्सियलतर्फ किङलङ, न्यु गोनाउ, डीएफएसके, जिन्बेई, फोटोन, सोकोन, स्काईवर्थ, कामा, डोङफेङ, आकवेल, सीएचटीसी र टाटाका गाडी रहनेछन्।