काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ।
कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो। बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम रहेको भन्दै सो निर्देशन दिइएको हो।
परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ। हाल सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्राचार, निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने खतरा बढेको छ।











