काठमाडौं । साइबर अनुसन्धान क्षमतालाई बलियो बनाउने उद्देश्यका साथ अमेरिकी सरकारले अत्याधुनिक डिजिटल फरेन्सिक प्रयोगशाला नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट उर्बोमले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई उक्त प्रयोगशाला औपचारिक रुपमा मंगलबार हस्तान्तरण गरेका हुन्।
अमेरिकी विदेश मन्त्रालयको ‘ब्युरो अफ इन्टरनेसनल नारकोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स’ १५ लाख अमेरिकी डलर (करिब २२ करोड नेपाली रुपैयाँ) को आर्थिक सहयोगमा यो परियोजना सम्पन्न भएको हो।
यसको प्राविधिक कार्यान्वयन अमेरिकी न्याय मन्त्रालयको ‘इन्टरनेसनल क्रिमिनल इन्भेस्टिगेसन ट्रेनिङ असिस्टेन्स प्रोग्राम’ ले गरेको थियो।
यो प्रयोगशालामा डिजिटल प्रमाणहरु संकलन, विश्लेषण र सुरक्षित राख्नका लागि विश्वस्तरका अत्याधुनिक फरेन्सिक उपकरणहरु जडान गरिएका छन्। साथै, साइबर प्रविधिको प्रयोग गरेर हुने अन्तरदेशीय संगठित अपराधहरुको प्रभावकारी अनुसन्धानका लागि प्रहरी अधिकारीहरुलाई विशेष तालिमसमेत प्रदान गरिएको जनाइएको छ।
हस्तान्तरण समारोहमा कार्यवाहक राजदूत उर्बोमले अहिलेको समयमा लगभग हरेक अपराधमा कुनै न कुनै डिजिटल पाटो जोडिएको बताए। मानव तस्करी, भ्रष्टाचार, ठगीदेखि हिंसात्मक अपराधसम्मको अनुसन्धानका क्रममा अहिले डिजिटल प्रमाण नै सबैभन्दा बलियो तथ्य बन्ने गरेको उनको भनाइ थियो।
यस प्रयोगशालाले नेपाल प्रहरीलाई २१औं शताब्दीका आपराधिक चुनौतीहरुको सामना गर्न र कानुनी शासनको रक्षा गर्न आवश्यक उपकरण र सीप प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका थिए।










